काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले रास्वपा सभापति रवि लामिछानेलाई बाइपास गर्दै इन्जिनियर दीपककुमार साहलाई नयाँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका छन् ।
ग्यास व्यवस्थापनमा समस्या देखिएपछि गौरीकुमारी यादवले राजीनामा दिएलगत्तै साहलाई मन्त्री बनाइएको हो ।
साहलाई रुग्ण तथा बन्द सरकारी उद्योग सञ्चालनसम्बन्धी योजनाका कारण जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले विगतमा बन्द उद्योग पुनः सञ्चालन गरी रोजगारी सिर्जना गर्ने योजनासहित सरकारलाई प्रस्तावसमेत दिएका थिए ।
साहलाई मन्त्री बनाउन गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले भूमिका खेलेको बताइएको छ ।
कप्तानगन्ज घटनापछि उनले सरकारको पक्षमा भूमिका खेलेको र घटनाबारे छुट्टै प्रतिवेदन तयार गरेको विषय पनि उनको नियुक्तिमा प्रभावकारी बनेको स्रोतको दाबी छ ।
साहको राजनीतिक यात्रा भने उतारचढावपूर्ण छ। उनी यसअघि जनमत पार्टीमा आबद्ध हुँदै नेतृत्व तहमा पुगेका थिए ।
अध्यक्ष सीके राउतसँग विवादपछि जनमतबाट निष्कासित भएका साहले पछि नयाँ दल गठन गर्दै अन्ततः रास्वपाबाट सुनसरी–४ मा उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
अब उद्योगमन्त्रीका रूपमा साहसामु ग्यास आपूर्ति व्यवस्थापनसँगै लामो समयदेखि बन्द रहेका सरकारी उद्योग सञ्चालन गर्ने चुनौती छ ।






















