images
images
  • रवि लामिछानेलाई थाहै नदिइ प्रधानमन्त्री बालेनले नयाँ मन्त्री नियुक्त गरेपछि रास्वपाभित्र हंगामा

    काठमाडौं– प्रधानमन्त्री बालेन शाहले उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाएर दीपक साहलाई नियुक्त गर्ने तयारीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अन्तिम समयसम्म जानकारी गराएका थिएनन् ।

    प्रधानमन्त्री कार्यालय र रास्वपा स्रोतका अनुसार यादवको कार्यसम्पादनप्रति प्रधानमन्त्री असन्तुष्ट रहेको जानकारी लामिछानेलाई यसअघि नै दिइएको थियो ।

    तर, उनको स्थानमा साहलाई मन्त्री बनाउने निर्णयबारे भने शपथग्रहणअघि मात्रै जानकारी गराइएको थियो ।

    रास्वपा स्रोतले मन्त्री नियुक्तिजस्तो महत्त्वपूर्ण विषयमा पार्टी सभापति जानकारीबाहिर रहनु उचित नभएको जनाएको छ ।

    प्रधानमन्त्रीको अधिकारलाई लिएर असहमति नभए पनि निर्णय प्रक्रियामा समन्वय आवश्यक रहेको उसको भनाइ छ ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार ग्यास तथा पेट्रोलियम संकट व्यवस्थापनमा यादवको कार्यसम्पादन अपेक्षाअनुसार नभएपछि प्रधानमन्त्री स्वयंले उनलाई हटाउने निर्णय गरेका हुन् ।

    सचिव तथा प्रशासनिक संरचनामा परिवर्तन गरेर कार्यसम्पादन सुधार्ने प्रयास गरिए पनि अपेक्षित सुधार नआएको स्रोतको दाबी छ ।

    यादव हटेपछि दीपक साहलाई उद्योगमन्त्री बनाइएको छ ।

    साह यसअघि सीके राउत निकट रहेर रास्वपामा आएका नेता हुन् ।

    उनको पृष्ठभूमिलाई लिएर पार्टीभित्रै प्रश्न उठेको लामिछाने निकट एक नेताले बताए ।

    पार्टीभित्रको अर्को असन्तुष्टि भनेको लामिछानेको कोटामा रहेको मन्त्रालयसमेत प्रधानमन्त्री पक्षले आफैंसँग राखेको विषय हो ।

    ती नेताका अनुसार प्रधानमन्त्रीले सभापति लामिछानेसँग परामर्श गरेको भए संसदीय दलका उपनेता गणेश पराजुलीलाई मन्त्री बनाउने तयारी थियो ।

    प्रधानमन्त्री र रास्वपा सभापतिबीच शक्ति सन्तुलन र निर्णय प्रक्रियामा समन्वयको प्रश्न पछिल्लो घटनासँगै थप सतहमा आएको नेताहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images