images
images
  • देउवा–गगन आफ्नै तालमा महाधिवेशन गर्दै, शेखर–शशांक एउटै क्याम्पमा, पूर्णबहादुर पेन्डुलम

    काठमाडौं– नेपाली कांग्रेसमा संस्थापन र इतर पक्षले छुट्टाछुट्टै महाधिवेशनको तयारी अघि बढाएसँगै पार्टीको १५औँ महाधिवेशन दुई वटा हुने सम्भावना बलियो बनेको छ ।

    गगन थापा नेतृत्वको संस्थापन पक्षले असोज १६–१९ मा महाधिवेशन गर्ने तयारी गरेको छ ।

    यसका लागि भृकुटीमण्डपस्थित प्रदर्शनी हल, बगैँचा र पार्किङस्थलसमेत बुक गरिएको छ ।

    वडा, पालिका तथा प्रदेश–प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशनपछि सिधै महाधिवेशन गर्ने गरी कार्यतालिका अघि बढाइएको छ ।

    यता शेरबहादुर देउवा पक्षले असोज १५ बाट वडा अधिवेशन सुरु गरी मंसिर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ ।

    देउवा पक्षका नेता भानु देउवाले दुईवटा महाधिवेशन हुने अवस्था बनेको बताए ।

    सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा विचाराधीन रहेकाले अहिले सहमतिको सम्भावना कम रहेको उनको भनाइ छ ।

    सर्वोच्चले यसअघि थापा नेतृत्वको कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयसम्बन्धी फैसला पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष अन्तिम फैसलाको पर्खाइमा छ ।

    शेखर–शशांक एक ठाउँ

    दुई पक्षबीच सहमतिको प्रयास गरिरहेका नेता शेखर कोइराला असोज ३ गतेसम्म एकताको प्रयास गर्ने तयारीमा छन् ।

    सहमति नभए आफू कुन पक्षमा उभिने भन्ने निर्णय केही दिनभित्र गर्ने उनीनिकट नेताहरूले बताएका छन् ।

    शेखरनिकट नेता सञ्जय गौतमका अनुसार शेखर र उनका भाइ शशांक कोइराला दुई दाजुभाइ एकै ठाउँमा रहने सम्भावना बलियो छ ।

    विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच साझा धारणा बनाउने प्रयास भइरहेको छ ।

    शेखर पक्षले देउवाबिनाको कांग्रेस एकता अर्थपूर्ण नहुने निष्कर्ष निकालेको छ ।

    पार्टीको बृहत्तर एकता र मुलुकको राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर एकताबद्ध कांग्रेसलाई प्राथमिकता दिने उनीनिकट नेताहरूको भनाइ छ ।

    पूर्णबहादुर तटस्थ बस्ने सम्भावना

    निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने दुई पक्षमध्ये कुनैमा नउभिने मनस्थितिमा देखिएका छन् ।

    खड्कानिकट नेता श्याम घिमिरेका अनुसार सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा थापा पक्षले गर्ने महाधिवेशनमा सहभागी हुन नैतिक समस्या हुने खड्काको धारणा छ ।

    ‘चोइटिएको पार्टीमा म जाँदिनँ’ भन्ने धारणा खड्काले राखेको घिमिरेले बताए ।

    यद्यपि खड्कानिकट केही नेताहरू भने थापा पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुने तयारीमा छन् ।

    कांग्रेसको सम्पूर्ण एकता हुनुपर्ने पक्षमा रहेका खड्काले औपचारिक निर्णय भने गरिसकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images