काठमाडौं– नेकपा (एमाले)को पार्टी पुनर्गठनसम्बन्धी कार्यदलमा महासचिव शंकर पोखरेल र संयोजक रामबहादुर थापा ‘बादल’बीच फरक मत देखिएको छ ।
दुवैले छुट्टाछुट्टै प्रतिवेदन तयार गरेपछि एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई हेर्ने दृष्टिकोणमा दुई धार स्पष्ट भएको हो ।
गत जेठ १० गते निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका लागि बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरिएको थियो ।
देशभरबाट सुझाव संकलनपछि पोखरेलले ६५ पृष्ठको प्रतिवेदन तयार गरेका छन् ।
प्रतिवेदनमा निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिँदै अध्यक्ष ओलीले पद छाड्नु उपयुक्त हुने सुझाव दिइएको छ ।
तर, बादलले ओलीको बचाउ गर्दै छुट्टै प्रतिवेदन तयार गरेका छन् ।
उनले एउटा निर्वाचनको परिणामका आधारमा महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई हटाउने बहस गलत भएको तर्क गरेका छन् ।
संकटका बेला नेतृत्वले पद छाड्नु जिम्मेवारीबाट पलायन हुने उनको निष्कर्ष छ ।
पोखरेलको प्रतिवेदनमा भने एमालेको वर्तमान संगठन र नेतृत्व शैलीमा व्यापक सुधार आवश्यक रहेको उल्लेख छ ।
उमेर हद पुनः लागू गर्ने, नेतृत्व हस्तान्तरणको बाटो खोल्ने, संगठनात्मक संरचना कटौती गर्ने र डिजिटल युगअनुकूल पार्टी निर्माण गर्नुपर्ने सुझाव दिइएको छ ।
कार्यदलमा बादलको पक्षमा ७ र पोखरेलको पक्षमा ८ सदस्य रहेको दाबी गरिएको छ ।
बादलको पक्षमा लेखराज भट्ट, महेश बस्नेत, शेरधन राई, भानुभक्त ढकाल, पद्मा अर्याल र लीलानाथ श्रेष्ठसहितका नेता छन् ।
पोखरेलको पक्षमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, राजन भट्टराई, खगराज अधिकारी, छविलाल विश्वकर्मा, यमलाल कँडेल र दामोदर भण्डारी छन् ।
कार्यदलको बैठकमा दुवै प्रतिवेदनमाथि छलफल हुँदैछ ।
सहमति नजुटे पोखरेलको प्रतिवेदन बहुमतबाट पारित हुने सम्भावना रहेको एक कार्यदल सदस्यले बताएका छन् ।
विवाद कायम रहे दुवै प्रतिवेदन सचिवालय हुँदै केन्द्रीय कमिटीमा पुगेर टुंगो लाग्न सक्ने नेताहरूको भनाइ छ ।
एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले प्रतिवेदनमाथि विस्तृत छलफलपछि आवश्यक निर्णय हुने बताएका छन् ।






















