काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले प्रतिनिधिसभाको उद्योग समितिमा ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिपछि नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेका छन् ।
मन्त्री यादवले ५८ वटा ग्यास उद्योग आवश्यक नरहेको र उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि उद्योगीहरूले प्रधानमन्त्रीको सचिवालयमा आपत्ति जनाएका थिए ।
उनीहरूले मन्त्रीको अभिव्यक्तिले आफूहरू अपमानित भएको भन्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका थिए ।
उद्योगीहरूको गुनासोपछि संघका अध्यक्ष दीवानबहादुर चन्द, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरे र पूर्वअध्यक्ष एवं सल्लाहकार गोकुल भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको थियो ।
उनीहरू बुधबार साँझ करिब ५ बजे सिंहदरबार पुगेका थिए ।
प्रधानमन्त्रीको सचिवालयसँग करिब साढे दुई घण्टा भएको छलफलमा उद्योगीहरूले काठमाडौंमा ग्यास अभाव हुनुको मुख्य कारण पृथ्वी राजमार्ग अवरुद्ध हुनु रहेको बताएका थिए ।
वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्न उद्योगीसँग पर्याप्त ठूला ट्रक नभएको भन्दै सेना, प्रहरी तथा सरकारी निकायका ट्रक प्रयोग गर्न यसअघि नै उद्योग मन्त्रालयसँग प्रस्ताव गरेको उनीहरूले जानकारी गराएका थिए ।
मन्त्री यादवले सरकारी सवारी प्रयोगको प्रस्ताव अस्वीकार गरेपछि उद्योगीहरूले नारायणी यातायात व्यवसायी संघ र तराई ट्रक संघबाट करिब ७० ट्रक भाडामा लिएर ग्यास आपूर्ति गरिरहेको बताएका थिए ।
तर, खाली सिलिन्डर तराईका रिफिलिङ प्लान्टमा पुर्याएर पुनः काठमाडौं ल्याउनुपर्ने भएकाले आपूर्ति नियमित गर्न कठिन भइरहेको उनीहरूको भनाइ थियो ।
तराईका प्लान्ट तीन सिफ्टमा सञ्चालन भइरहेको, जनशक्ति व्यवस्थापनमा समस्या रहेको र सडकका कारण २१ टन क्षमताका ट्रकले समेत १५ टनभन्दा बढी बोक्न नसकेको उद्योगीहरूले बताएका थिए ।
उद्योगीहरूले आफूहरू संकटका बेला दिनरात काम गरिरहेका बेला मन्त्रीबाट सहयोगको सट्टा अपमानजनक अभिव्यक्ति आएको गुनासो गरेका थिए ।
साथै, ग्यास आपूर्तिसम्बन्धी छलफलमा उद्योगीलाई उद्योग समितिमा नबोलाइएको विषयसमेत उनीहरूले प्रधानमन्त्रीको सचिवालयसमक्ष राखेका थिए ।
छलफलको अन्त्यमा प्रधानमन्त्रीका स्वकीय उपसचिव विशाल अधिकारी मात्रै उद्योगीसँग बसेका थिए ।
उनले मन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग छलफल गरी प्रतिक्रिया दिने र तत्काल ग्यास आपूर्ति सहज बनाउन आग्रह गर्दै उद्योगीहरूलाई बिदा गरेका थिए ।
यसअघि पनि प्रधानमन्त्री बालेन्द्र शाह मन्त्री यादवको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइएको थियो ।
प्रधानमन्त्रीको निर्देशनपछि राजनीतिक सल्लाहकार असीम साहले बुधबार नै यादवलाई राजीनामा दिन आग्रह गरेको र त्यसपछि यादवले बिहीबार मन्त्रालयमा सचिवालय बैठक राखेर राजीनामा दिने संकेत गरेकी थिइन् ।
यादव प्रधानमन्त्री शाहकै रोजाइमा चैत २७ गते उद्योगमन्त्री बनेकी थिइन् ।
उनी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–४ बाट निर्वाचित भएकी हुन् ।






















