images
images
  • ओली–प्रचण्डको पद जोगाउनमै बित्ने भो बादलको जुनी !

    काठमाडौं– नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको प्रतिरक्षा गर्दै पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी छुट्टै प्रतिवेदन तयार पारेका छन् ।

    कार्यदलका संयोजकसमेत रहेका थापाले महासचिव शंकर पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदालाई परिमार्जन गर्दै ३९ पृष्ठको प्रतिवेदन तयार गरेका हुन् ।

    प्रतिवेदनमा ओलीलाई नेतृत्वबाट हटाउने बहसले पार्टीमा विवाद र ‘अन्तध्र्वंस’ निम्त्याउन सक्ने भन्दै पोखरेलको प्रस्तावप्रति असहमति जनाइएको छ ।

    थापाले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने घटनालाई ‘अमेरिका, अल्गोरिदम र आर्मी’को षड्यन्त्रसँग जोड्दै नेतृत्वको बचाउ गरेका छन् ।

    साथै, ७० वर्षे उमेरहद र अध्यक्षमा दुई कार्यकालको सीमा राख्ने व्यवस्थाको पनि विरोध गरेका छन् ।

    उनले पोखरेलको मस्यौदामा नेतृत्व परिवर्तनसँग सम्बन्धित विषय हटाएर बाँकी सुझावलाई पार्टीको सम्पत्तिका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गरेका छन् ।

    पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीसहित पदाधिकारीले नेतृत्व हस्तान्तरण गर्दै मौजुदा केन्द्रीय कमिटी विघटन गर्नुपर्ने सुझाव आएको उल्लेख थियो ।

    त्यसप्रति ओली पक्ष असन्तुष्ट रहँदै आएको थियो ।

    थापाको प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बोलाइएको छ ।

    बैठकले प्रतिवेदनमाथि छलफल गरी सचिवालयमा बुझाउने तयारी गरेको एमाले उपमहासचिव लेखराज भट्टले बताएका छन् ।

    एमालेभित्र नेतृत्व परिवर्तन, विधान संशोधन र पार्टी पुनर्गठनको विषयमा मतभेद बढिरहेका बेला थापाको छुट्टै प्रतिवेदनलाई ओली पक्षको रणनीतिक कदमका रूपमा हेरिएको छ ।

    बादल तत्कालीन माओवादी कमान्डर हुन् ।

    त्यतिबेला उनी प्रचण्डका रक्षाकवच थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images