काठमाडौं– सरकारको कार्यशैलीलाई लिएर आफ्नै सांसद तथा नेताहरूबाट असन्तुष्टि सार्वजनिक हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्तरिक विषय सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा नल्याउन निर्देशन दिएको छ ।
रास्वपा संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले पार्टी वा संसदीय दलका आन्तरिक विषय बाहिर ल्याउनेमाथि आवश्यकताअनुसार सचेत वा स्पष्टीकरण सोधिने बताए ।
उनका अनुसार गुनासा तथा सुझाव पार्टीका बैठक, लिखित, फोन वा प्रत्यक्ष भेटमार्फत राख्न सकिनेछ ।
भदौ २३ गते जेनजी आन्दोलन स्मृति कार्यक्रममा विवादास्पद धर्मगुरुलाई सहभागी गराइएको तथा गृहमन्त्री सुधन गुरुङले सञ्चारकर्मी र पुराना दलका नेतामाथि दिएको अभिव्यक्तिलाई लिएर रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले सार्वजनिक रूपमा प्रश्न उठाएकी थिइन् ।
यस विषयमा गृहमन्त्री र धितालबीच विवाद भएको विषयसमेत बाहिर आएको छ ।
धितालले यसअघि सुकुमवासी बस्तीमा सरकारले डोजर चलाएको विषयमा पनि सरकारको आलोचना गरेकी थिइन् ।
त्यसपछि प्रधानमन्त्रीको सचिवालयको गुनासोमा उनलाई सचेत गराइएको थियो ।
गृहमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा महामन्त्री विपिनकुमार आचार्य, संगठन विभाग प्रमुख प्रमोद न्यौपाने तथा केही सांसदले समेत सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए ।
यद्यपि न्यौपानेले पार्टीभित्र कुनै गम्भीर अन्तरविरोध नरहेको र समस्या भए पार्टीको विधिबाट समाधान गरिने दाबी गरे ।
उनले सांसदहरूलाई आफ्नो धारणा राख्न रोक नलगाइएको स्पष्ट पार्दै सदनमा बोल्नुअघि विषयबारे संसदीय दललाई जानकारी गराउन आग्रह गरिएको बताए ।
यसैबीच पार्टीभित्र बढ्दो असन्तुष्टि व्यवस्थापन गर्न व्यवस्थित संयन्त्र बनाएर काम भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
संसद्मा सांसदहरूले उठाएका समस्या, गुनासा र सुझाव संकलन गरी प्रधानमन्त्री कार्यालयमा पठाउने र सम्बन्धित मन्त्रालयमार्फत सम्बोधन गर्ने व्यवस्था मिलाइएको सचिवालयको भनाइ छ ।
रास्वपा सभापति रवि लामिछानेले पनि पार्टी, सरकार र सांसदबीच समन्वय कायम गर्न संसदीय दल, सचिवालय तथा केन्द्रीय समितिका बैठक र प्रशिक्षणमार्फत आन्तरिक विवाद सार्वजनिक रूपमा नल्याउन पटक–पटक आग्रह गर्दै आएका छन् ।






















