काठमाडौं– बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन् ।
उनी बालेन सरकारबाट बाहिरिने महोत्तरीकी दोस्रो मन्त्री हुन् ।
यसअघि महोत्तरी–२ बाट निर्वाचित दीपक साह श्रममन्त्री बनेको १४ दिनमै पदमुक्त भएका थिए ।
स्वास्थ्य बीमा बोर्डमा निलम्बित रहेकी पत्नीलाई पुनर्बहाली गर्न भूमिका खेलेको आरोपमा विवाद भएपछि प्रधानमन्त्री शाहले उनलाई हटाएका थिए ।
महोत्तरी–४ बाट निर्वाचित यादवलाई प्रधानमन्त्री शाहले २०८२ चैत २७ गते उद्योगमन्त्रीको जिम्मेवारी दिएका थिए ।
मन्त्रालयका लागि सुरुमा अमरेश यादवको नाम आए पनि उनले अस्वीकार गरेपछि केही समय प्रधानमन्त्री शाहले नै मन्त्रालय सम्हालेका थिए ।
पछिल्लो समय ग्यास अभाव समाधान गर्न नसकेको भन्दै यादवमाथि दबाब बढेको थियो ।
त्यसमाथि उद्योगीलाई ‘पाता फर्काउने’ उनको अभिव्यक्ति विवादमा परेपछि उनको राजीनामा आएको हो ।






















