काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर आपराधिक आरोप खेपिरहेका तथा विवादित पृष्ठभूमिका व्यक्तिलाई पार्टीमा भित्र्याएपछि उसले उठाउँदै आएको सुशासन, नैतिकता र नयाँ राजनीतिक संस्कृतिमाथि प्रश्न उठेको छ ।
गौर–नरसंहार प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोगले मुद्दा चलाउन सिफारिस गरेका बबन सिंहलाई पार्टी प्रवेश गाएपछि पार्टीभित्र असन्तुष्टि बढेको थियो ।
यसअघि पनि सांसद आशिका तामाङ, धनञ्जय रेग्मीलगायत विवादित व्यक्तिलाई पार्टीमा स्थान दिइएको भन्दै आलोचना हुँदै आएको छ ।
त्यस्तै खुट्टा बाँच्ने अभिव्यक्ति दिने पूर्वाधारमन्त्री सुनिल लम्साल, विदेशी युवतीलाई भुँडी बोकाउने रास्वपा सांसद कृष्ण कार्कीलाई कुनै कारबाही गरिएको छैन ।
तर, ग्यासमा कालोबजारी गर्ने उद्योगी, व्यवसायी र विक्रेतालाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
यसलाई कतिपयले उच्च राजनैतिकता भएको बताएका छन् ।
त्यस्तै सहकारी ठग, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा झेलिरहेका रास्वपा सभापति रवि लामिछाने खुलेआम संसद्भित्र छिरेर बोल्दै आएका छन् ।
राजनीतिक विश्लेषकहरूका अनुसार कुनै व्यक्ति अदालतबाट दोषी ठहर नभएसम्म निर्दोष मानिए पनि राजनीतिक दलले सार्वजनिक विश्वास र नैतिक मापदण्डलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।
पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीका अनुसार गम्भीर आरोप लागेका व्यक्तिहरू राजनीतिक संरक्षण खोज्दै दल परिवर्तन गर्ने प्रवृत्ति बढ्दो छ ।
रास्वपाका केही नेताहरूले पनि पृष्ठभूमि मूल्यांकनलाई कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
रास्वपाका नेताहरूले अदालतबाट दोषी ठहर नभएसम्म सदस्यता दिन मिल्ने तर्क गरे पनि पार्टीका निर्णयले नै उसको विश्वसनीयता निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ ।
नयाँ राजनीतिक संस्कृतिको दाबी गर्ने रास्वपाले आफ्नै सार्वजनिक प्रतिबद्धताअनुसार पारदर्शी र नैतिक निर्णय गर्नुपर्ने दबाब बढ्दै गएको छ ।






















