काठमाडौं– निर्माण सामग्रीको मूल्य र श्रमिकको ज्यालादर बढेपछि आर्थिक वर्ष २०८२/८३ मा नेपालको समग्र निर्माण लागत१ दशमलव ९४ प्रतिशतले बढेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको निर्माण सामग्री मूल्य सूचकाङ्कअनुसार आव २०८२/८३ मा समग्र सूचकाङ्क १५५ दशमलव ६ अङ्क पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यो १५२ दशमलव ६ अङ्क थियो ।
निर्माण सामग्रीको औसत मूल्य १ दशमलव ३४ प्रतिशतले बढेको छ । सामग्रीमध्ये बिजुलीको तारको मूल्य सबैभन्दा धेरै २१ दशमलव ६५ प्रतिशतले बढेको छ । इँटाको मूल्य ९ दशमलव २० प्रतिशत, जीआई पाइपको ५ दशमलव ७६ प्रतिशत र सिमेन्टको ४ दशमलव ६० प्रतिशतले बढेको छ ।
त्यस्तै, गिट्टी, ढुङ्गा तथा कङ्क्रिटको मूल्य ३ दशमलव ९९ प्रतिशतले बढेको छ । सडक निर्माणमा प्रयोग हुने बिटुमिनको मूल्य पनि पछिल्लो वर्ष उल्लेख्य बढेको छ ।
तर ह्युम पाइपको मूल्य १२ दशमलव २९ प्रतिशत, काठको ६ दशमलव ९३ प्रतिशत र फलामे छडको २ दशमलव ५९ प्रतिशतले घटेको छ ।
निर्माण क्षेत्रमा प्रयोग हुने श्रमिकको ज्यालादर भने वार्षिक औसत २ दशमलव ९२ प्रतिशतले बढेको छ । पेन्टरको ज्यालादर सबैभन्दा धेरै ५ दशमलव ०५ प्रतिशतले बढ्दा सामान्य श्रमिकको ज्याला ३ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ ।
निर्माण सामग्रीको मूल्य र श्रमिकको बढ्दो ज्यालादरले आवासीय भवनदेखि सडक, पुल तथा अन्य सार्वजनिक पूर्वाधार निर्माणको लागतमा प्रत्यक्ष प्रभाव परेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।






















