काठमाडौं– जेनजी आन्दोलनले सत्ता, राजनीतिक नेतृत्व र राज्यको सामाजिक सञ्जालसम्बन्धी नीति बदल्ने दबाब सिर्जना गर्यो ।
तर आन्दोलनको एक वर्षपछि पनि सामाजिक सञ्जालमा फरक मत सहन नसक्ने राजनीतिक संस्कार भने उस्तै रहेको देखिएको छ ।
पहिले एमाले, कांग्रेस र माओवादी समर्थक कार्यकर्तामाथि आलोचकलाई ‘झोले’, ‘हनुमान’ जस्ता आरोप लगाउने गरेको आरोप लाग्थ्यो ।
अहिले डिजिटल स्पेसमा रास्वपा निकट समर्थक पनि आलोचकविरुद्ध गालीगलौज, व्यक्तिगत आक्रमण र ‘ट्रोलिङ’मा सक्रिय देखिन थालेका छन् ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५२६ उजुरी दर्ता भएका छन्, जुन अघिल्लो वर्षभन्दा बढी हो ।
ती उजुरीमा फेसबुक, टिकटक, ह्वाट्सएप र इन्स्टाग्राम प्रमुख माध्यमका रूपमा देखिएका छन् ।
जेनजी आन्दोलनले राज्यद्वारा सामाजिक सञ्जाल नियन्त्रणको विरोध गरेको थियो ।
तर सत्ता परिवर्तनसँगै पनि डिजिटल बहसमा तथ्य र तर्कभन्दा गाली, लेबलिङ र व्यक्तिगत आक्रमणको प्रवृत्ति नघट्नुले एउटा प्रश्न उठाएको छ, सत्ता फेरियो, तर के राजनीतिक संस्कार फेरियो ?
सरकार फेरिए पनि फरक विचारलाई सम्मान गर्ने र आलोचनालाई लोकतान्त्रिक बहसका रूपमा स्वीकार गर्ने संस्कार विकास नभएसम्म सामाजिक सञ्जालको स्वतन्त्रता मात्र पर्याप्त नहुने देखिएको छ ।





















