काठमाडौं– नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल)मा ९ देशका १८ विदेशी खेलाडी सहभागी हुने भएका छन् ।
केडिया ग्रुपको आयोजनामा भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रत्येक टोलीले तीन विदेशी खेलाडी राख्न पाउने प्रावधानअनुसार खेलाडीहरू अनुबन्ध गरिएका हुन् ।
यसअघि नेपालमा हुने भलिबल प्रतियोगितामा भारत र पाकिस्तानका खेलाडीको उपस्थिति बढी हुने गरे पनि एनभीएलमा एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिकासम्मका खेलाडी सहभागी हुँदैछन् ।
पाकिस्तानबाट ५, भारत र मंगोलियाबाट ३–३ तथा पोल्यान्ड, बेलारुस, इरान, रुस र बेनिनबाट १–१ खेलाडी नेपाल आएका छन् ।
ब्राजिलका एक खेलाडी पनि प्रतियोगिताका लागि आबद्ध भएका छन् ।
१८ मध्ये एक विदेशी खेलाडी भने नेपाल आउन बाँकी छन् ।
कुन टोलीमा को ?
सगरमाथा स्म्यासर्सले पाकिस्तानका अइमल खान, फखर वाट्टो र वाकर खानलाई अनुबन्ध गरेको छ ।
तीनै खेलाडीलाई नेपालमा विभिन्न प्रतियोगिता खेलेको अनुभव छ ।
मधेश वारियर्सले भारतका मोहन उग्रपान्डियन, विनित कुमार र रमन कुमारलाई टोलीमा भित्र्याएको छ ।
मोहन सेटर तथा विनित र रमन स्पाइकर हुन् ।
काठमाडौं रेड्सले पाकिस्तानका अहमेद राजा र एडनान खान तथा सर्बियाका स्टेफान ओकोसानोभिचलाई अनुबन्ध गरेको छ ।
तीनै खेलाडी स्पाइकर तथा सेटर भूमिकामा छन् ।
अन्नपूर्ण स्पाइकर किंग्सले मंगोलियाका राष्ट्रिय टोलीका खेलाडी उरानबायर मंखबायर, इंख एर्डेन र तुर्मान्डाखलाई टोलीमा राखेको छ ।
उरानबायर र इंख स्पाइकर तथा तुर्मान्डाख सेटर हुन् ।
यी खेलाडीले मंगोलियालाई एसियन इस्टर्न जोन भलिबल च्याम्पियनसिपमा कांस्य पदक दिलाउन योगदान गरेका थिए ।
कर्णाली शिवराजले पोल्यान्डका इमिलियन स्केतेक, बेलारुसका आर्टसिओम कुड्रासोउ र इरानका अलिरेजा अबालोचलाई अनुबन्ध गरेको छ ।
इमिलियन सेटर हुन् ।
त्यस्तै खप्तड फाल्कन्सले बेनिनका स्पाइकर बोस्को डेटे, रुसका स्पाइकर अर्टेम किसेलेभ र ब्राजिलका एक सेटरलाई टोलीमा भित्र्याएको छ ।
एनभीएलमा विदेशी खेलाडीको सहभागिताले प्रतियोगिताको अन्तर्राष्ट्रिय आकर्षण बढाउनुका साथै नेपाली खेलाडीलाई उच्चस्तरीय खेलाडीहरूसँग खेल्ने र उनीहरूबाट अनुभव सिक्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ ।
नेपालमा पुरुष भलिबलको पहिलो फ्रेन्चाइज लिग भएकाले प्रतियोगितालाई नेपाली भलिबलको व्यावसायिक र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।























