काठमाडौं । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालसहित १५ नेताले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको दाबी गरेका छन् ।
खनाल–नेपालसहित नेताहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, रघुजी पन्त, बेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमालले कम्युनिस्ट आन्दोलनको रक्षा र विकासमा आ–आफ्नो ठाउँबाट प्रयास गर्न बिहीबार अपिल गरेका हुन् ।
अपिलमा भनिएको छ, ‘हामीलाई नेकपा (एमाले)मा रहन नदिन अनेक दाउपेचहरू गरिएका छन् । २८ फागुनको गुट भेलालाई नै पार्टी केन्द्रीय कमिटीको बैठक मान्ने कुराले त्यही देखाउँछ । तर, हामी पार्टी एकता जोगाउन चाहन्छौँ । त्यसैले हामीले ‘नेकपा (एमाले)को एकतालाई बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भनेका छौँ ।
त्यसका निम्ति फागुन २८ र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सवै रद्द गरिनुपर्छ र ०७५ जेठ २ गते जुन केन्द्रीय कमिटी थियो त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्दछ । यदि त्यसो भयो भने नेकपा (एमाले)को एकता जोगिन्छ ।
एमालेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यही अठोटका साथ ७२ वर्षको मिहिनेतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौँ । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीका आमनेता तथा कार्यकर्ता र समर्थक, शुभचिन्तक सबैमा हामी यही हार्दिक अपिल गर्दछौँ ।’
यस्तो छ अपिल
माधव पक्षका सांसदले बुझाए एमालेले सोधेको स्पष्टिकरण
नेकपा एमालेमा माधव नेपाल पक्षका सांसदहरूले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ बुझाएका छन् । एमाले पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बिहीबार दिउँसो २ बजे नेपालसहित बरिष्ठ नेता झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे र प्रदेश सांसद देवी ओलीले लिखित जवाफ बुझाएका छन् ।
उनीहरूले आफ्नो स्पष्टीकरणमा नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरूद्ध आफूहरूले कुनै काम नगरेको उल्लेख गरेका छन्। साथै उनीहरूले आफूहरूमाथि लगाइएका आरोपहरू निराधार भएको पनि दाबी गरेका छन्। नेता सुरेन्द्र पाण्डेले बुझाएको स्पष्टकरणमा प्रधानमन्त्रीले चालेको कदम विधानविपरीत भएको जिकिर गरेका छन् ।
प्रदेशका चार संसादले पनि जवाफ बुझाउँदै छन् ।दुई दिनअघि ६ वैशाखमा प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित २७ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। संघीय संसदको सदस्य पदबाट किन नहटाउने भन्ने प्रश्न गर्दै कारण खुलाएर तीन दिनभित्र स्पष्टीकरण दिन ओलीले मंगलबार लिखित पत्र दिएका थिए।
प्रतिक्रिया दिनुहोस्