काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत सामग्री नेपाल पठाएको छ ।
भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले आज बिहान ३७ दशमलव ५ टन राहत सामग्री नेपाल पठाइएको जानकारी दिनुभएको हो ।
विदेशमन्त्री जयशङ्करले सामाजिक सञ्जालमार्फत भारत नेपालका सम्बन्धित अधिकारीसँग नियमित सम्पर्कमा रहेको उल्लेख गर्दै विपद्को समयमा आवश्यक सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनुभएको छ ।
उहाँका अनुसार बाढी प्रभावित नागरिकका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न तथा आवश्यक औषधि पठाइएको छ ।
भारतले यसअघि पनि रसुवाका बाढीपीडितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो ।
दोस्रो चरणमा थप ३७ दशमलव ५ टन सामग्री पठाएसँगै भारतबाट रसुवाका बाढी प्रभावितका लागि पठाइएको राहत सामग्रीको मात्रा ४७ दशमलव ५ टन पुगेको छ ।
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति भएपछि प्रभावित नागरिकका लागि नेपाल सरकार तथा विभिन्न निकायले खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइरहेका छन् ।
भारतले आवश्यकताअनुसार नेपालसँग समन्वय गरी थप विपद् सहायता उपलब्ध गराउने जनाएको छ ।


विश्व खबर 




















