images
images
  • भोटेकोशी विपद्– संकटमा एकजुट बनौँ, एक्लो कोही नहोस् : प्रचण्ड

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोशी बाढीबाट सिर्जित संकट सामना गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

    सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा उनले विपत्तिका बेला राजनीतिक मतभेदलाई थाती राखेर खोजी, उद्धार, उपचार, राहत र पुनःस्थापनामा जुट्नुपर्ने बताए ।

    प्रचण्डले भोटेकोशी बाढीलाई सामान्य प्राकृतिक विपत्ति मात्र नभई जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएको गम्भीर संकेतका रूपमा लिनुपर्ने बताए ।

    उनले सरकार, राजनीतिक दल र सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गरी साझा कार्ययोजना बनाउन तथा छिमेकी मुलुकसँग समन्वय गर्दै पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन आग्रह गरे ।

    दीर्घकालीन रूपमा हिमाली क्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययनसहित राष्ट्रिय रणनीति आवश्यक रहेको उनको भनाइ छ ।

    विपत्तिमा राजनीति नभई राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्दै प्रचण्डले विगतका भूकम्प, बाढी तथा पहिरोमा नेपाली समाज र राजनीतिक शक्तिले देखाएको एकताको स्मरण गरे ।

    उनले आफ्नो पार्टीले उद्धार, राहत तथा सहयोगका काममा सरकारी निकायसँग समन्वय गरी पार्टी पंक्ति परिचालन गर्न निर्देशन दिइसकेको जानकारी दिँदै भने, ‘विपत्तिमा कोही एक्लो नहोस्, उद्धार र राहतमा कुनै ढिलाइ नहोस् र राज्यको पहुँचबाट कुनै नागरिक बाहिर नपरोस् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images