images
images
  • भोटेकोशी बाढीमा गोसाइँकुण्ड गाउँपालिका उपाध्यक्ष र वडाध्यक्ष बेपत्ता

    काठमाडौं-रसुवामा भोटेकोशी नदीमा आएको भीषण बाढीपछि गोसाइँकुण्ड गाउँपालिकाका उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार तामाङ सम्पर्कविहीन भएका छन्।

    गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार बाढी आएलगत्तैदेखि उपाध्यक्ष तामाङ र वडाध्यक्ष दावा मिङ्मार तामाङसँग सम्पर्क हुन सकेको छैन। उनीहरूका मोबाइल फोन सुरुमा सम्पर्कविहीन भएको र अहिले स्वीच अफ रहेको अध्यक्ष तामाङले बताएका छन्।

    उपाध्यक्ष प्रतिमा तामाङ वडा नम्बर ५ अन्तर्गत स्याफ्रुबेसी क्षेत्रकी हुन्। वडा नम्बर २ अन्तर्गत रसुवागढी–टिमुरे क्षेत्र पर्छ।

    अध्यक्ष तामाङका अनुसार बाढीबाट वडा नम्बर २ र ५ का तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। सयौँ स्थानीयवासी बेपत्ता भएको आशंका रहे पनि प्रभावितको यकिन विवरण संकलन गर्नसमेत कठिनाइ भइरहेको उनले बताए।

    ‘हराएका जनताको संख्या टिप्न म र कर्मचारीले समेत भ्याएका छैनौँ,’ अध्यक्ष तामाङले भने।

    बाढीले गोसाइँकुण्ड गाउँपालिकाको भवनसमेत बगाएको उनले जानकारी दिए। तटीय क्षेत्रमा रहेका अधिकांश घर तथा संरचनामा ठूलो क्षति पुगेको र कतिपय स्थानमा घर नै बाँकी नरहेको उनको भनाइ छ।

    अध्यक्ष तामाङले बाढीबाट भएको मानवीय तथा भौतिक क्षति अकल्पनीय रहेको बताएका छन्। आफू अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै उनले यस्तो क्षति तत्कालै पूर्ति गर्न नसकिने बताए।

    उनले केन्द्र सरकारबाट उद्धारका लागि पर्याप्त पहल नभएको गुनासोसमेत गरेका छन्। एकाध हेलिकप्टर प्रभावित क्षेत्रमा पुगे पनि उद्धारका लागि पर्याप्त नभएको उनको भनाइ छ।

    प्रभावित क्षेत्रमा घाइतेको उद्धारमा समेत कठिनाइ भइरहेको स्थानीयले बताएका छन्। बेत्रावतीलगायत क्षेत्रमा घाइतेलाई अस्थायी रूपमा जम्मा गरिए पनि गम्भीर अवस्थाका बिरामीलाई तत्काल काठमाडौं ल्याउन कठिन भइरहेको बताइएको छ।

    ‘एउटा-दुईवटा हेलिकप्टरले उद्धार गरिरहेका छन्, तर त्यो पर्याप्त छैन,’ स्थानीय नेता तामाङले बताएका छन्।

    उनका अनुसार टिमुरे, मैलुङ र स्याफ्रुबेसीलगायत क्षेत्रमा उद्धार कार्य अत्यन्तै चुनौतीपूर्ण बनेको छ। लगातारको वर्षा, भासिएको जमिन, चिप्लो जंगल तथा बाढीले बगाएका सडक र पुलका कारण उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ।

    बाढीपछि स्थानीय तथा सुरक्षा निकायले सम्पर्कविहीन गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ, वडाध्यक्ष दावा मिङ्मार तामाङसहित अन्य बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images