काठमाडौं– भोटेकोशी नदीमा अकस्मात् आएको बाढीमा परी घाइते भएका १२ जनाको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।
बाढीपछि सम्पर्कविहीन तथा हराइरहेका व्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीबाट रसुवागढी नाकास्थित नेपाल–चीन सीमाक्षेत्रका बजार तथा बस्तीमा ठूलो क्षति पुगेको छ । विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे र घट्टेखोला बजार बढी प्रभावित भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलाका ५० घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
बाढीले रसुवागढीस्थित गाउँपालिकाको भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह तथा जलविद्युत् गृहमा समेत क्षति पुर्याएको छ ।
त्यस्तै, रसुवागढी जलविद्युत् आयोजना पूर्णरूपमा प्रभावित भएको छ भने चिलिमे जलविद्युत् आयोजनाको प्रवेशद्वार क्षेत्रमा समेत क्षति पुगेको छ। बाढीबाट राष्ट्रिय प्रसारण लाइनमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १८ किलोमिटर सडकखण्डमा क्षति पुर्याएको छ । दुईवटा विद्युत् गृहका पहुँचमार्गमा रहेका पुल तथा त्रिशूली–रसुवागढी सडकखण्डका दुईवटा पक्की पुलसमेत बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
यसैगरी, उत्तरगया गाउँपालिका–४ र ५ अन्तर्गत नदी तटीय क्षेत्रमा रहेका बजार तथा बस्ती पनि बाढीबाट प्रभावित भएका छन् । वेत्रावती बजारमा समेत बाढीले क्षति पुर्याएको प्रहरी प्रमुख थापाले बताउनुभयो ।
यसबीच, नेपाल सरकारले बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । घाइतेको उपचार व्यवस्था, हराएका तथा सम्पर्कविहीन व्यक्तिको खोजी र विपद्जन्य घटनापछि गर्नुपर्ने आवश्यक व्यवस्थापकीय काम तत्काल अघि बढाउनसमेत सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
सरकारले प्रभावित क्षेत्रमा आवश्यक समन्वय गरी खोज, उद्धार, उपचार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकाय परिचालन गरेको जनाएको छ ।


विश्व खबर 


















