काठमाडौं– लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडकमा लेदो र ढुंगा खस्दा देशका विभिन्न जिल्लाका दर्जनौँ सडकखण्ड अवरुद्ध भएका छन् ।
आइतबार बिहान ७ बजेसम्मको विवरणअनुसार अधिकांश सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही सडक एकतर्फी सञ्चालनमा आएका छन् । उपलब्ध विवरणअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका मुख्य सडक प्रभावित भएका छन् ।
कोशी प्रदेश
सोलुखुम्बुमा जिल्लाभित्र पर्ने सिद्धिचरण लोकमार्गसहित अन्य भित्री सडक बाढी–पहिरोको जोखिममा छन् । भोजपुरमा जिल्लाभित्र पर्ने मध्यपहाडी लोकमार्गसहितका सम्पूर्ण भित्री सडक प्रभावित छन् । इलाममा जिल्लाका सम्पूर्ण बाटोमा आवागमन प्रभावित भएको छ । मेची राजमार्ग तथा मेची करिडोरअन्तर्गतका सडकमा समेत सवारी आवागमन बन्द गरिएको छ ।
खोटाङमा मध्यपहाडी लोकमार्ग र मध्यपहाडी सडकखण्ड पहिरोका कारण प्रभावित छन् । हलेसीतुवाचुङ नगरपालिका–१ कदुवास्थित मध्यपहाडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । उदयपुरको कटारी–घुर्मी क्षेत्रमा कटारी–घुर्मी (सिद्धिचरण लोकमार्ग) प्रभावित भएको छ । पाँचथरमा तुम्बेवा गाउँपालिका–२ नावाखोला क्षेत्रमा तमोर–कोरिडोर बाढीका कारण अवरुद्ध छ भने याङवरक गाउँपालिका–२ दोभाने खोलास्थित मध्यपहाडी लोकमार्गमा पहिरो गएको छ ।
बागमती प्रदेश
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र ऐँसे टाकुर्चे तथा बागमती गाउँपालिका–३ टाकुर्चेमा कान्तिलोकपथ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ । काभ्रेमा बीपी राजमार्गका विभिन्न स्थानमा बाढी–पहिरोको जोखिम रहेको छ ।
रसुवामा मुख्य राजमार्ग सबै बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन् । नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्ड र विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड प्रभावित छन् ।
धादिङमा धादिङ जिल्ला आसपासको पृथ्वी लोकमार्ग पहिरोका कारण प्रभावित छ । बेनीघाट रोराङ गाउँपालिका, कृष्णभीर, टिङ्ग्राङखानी, जोगीघाट तथा गजुरी गाउँपालिका क्षेत्रमा पनि पहिरो गएको छ ।
पृथ्वी राजमार्गको उक्त खण्ड केही स्थानमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । मकवानपुरमा कान्तिराजमार्ग तथा भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौं जाने सडकखण्ड प्रभावित छ । इन्द्रसरोवर गाउँपालिका–८ महालक्ष्मी खोलानजिकको सडकमा पहिरो गएको छ ।
यसका कारण हेटौँडा, भैँसे, भीमफेदी, फाखेल र काठमाडौं जोड्ने सडकखण्ड प्रभावित भएको छ । सिन्धुलीमा बीपी राजमार्गका विभिन्न खण्ड बाढी–पहिरोको जोखिममा छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुले क्षेत्रमा मध्यपहाडी लोकमार्ग अवरुद्ध छ । सिन्धुपाल्चोकमा जिल्लाभरिका सडकखण्ड बाढी–पहिरोका कारण प्रभावित छन् । चितवनमा जिल्ला आसपासका क्षेत्रमा नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ ।
गण्डकी प्रदेश
मनाङमा बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्मको सडक राति सञ्चालनमा रोक लगाइएको छ । नासो गाउँपालिका–३ खोत्रो क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छ । कास्कीमा ग्रामीण भेगका सम्पूर्ण सवारीसाधन आवागमन प्रभावित छन् ।
मुस्ताङमा जिल्लाभित्रका सम्पूर्ण सवारीसाधन प्रभावित छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ कालीगण्डकी क्षेत्रमा जोमसोम–कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ । पर्वतमा पोखरा–बागलुङ मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत जिल्लाभित्र पर्ने करिब ३५ किलोमिटर सडकखण्ड बाढी–पहिरोको जोखिममा छ ।
म्याग्दीमा जिल्लाभरका सवारीसाधन प्रभावित छन् । रघुगंगा गाउँपालिका–२ बेगसी तथा अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर क्षेत्रमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ । नवलपरासी पूर्वमा जिल्लाभरका सवारीसाधन प्रभावित छन् ।
बागलुङको निसीखोला गाउँपालिका–४ कानाबगरमा मध्यपहाडी लोकमार्ग तथा जैमिनी नगरपालिका–८ बेलबगरमा कालीगण्डकी करिडोर अवरुद्ध छ । तनहुँको व्यास नगरपालिका–१३ घाँसीकुवा र म्याग्दे गाउँपालिका–६ मोरीभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।
लुम्बिनी प्रदेश
रोल्पाको रोल्पा नगरपालिका–९ माडीचौरमा मदन भण्डारी राजमार्ग अवरुद्ध छ । माडी गाउँपालिका–३ गजरे क्षेत्रमा घोराही–थवाङ–रुकुम शहीदमार्ग सडकखण्डमा पनि पहिरो गएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ रिपामा गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ स्यालबिसौना क्षेत्रमा मदन भण्डारी राजमार्ग, चन्द्रकोट गाउँपालिका–९ सिर्सेनीभीरमा रिडी–भुवनपाटीबजार सडकखण्ड तथा कालीगण्डकी गाउँपालिका–२ राक्सेमा कालीगण्डकी करिडोर अवरुद्ध छ ।
दाङमा तुलसीपुर–घोराही सडकखण्ड अवरुद्ध छ । जिल्लाका विभिन्न स्थानबाट राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड, भालुवाङ–चकचके सडकखण्ड तथा घोराही–होलेरी सडकखण्ड समेत प्रभावित भएको विवरणमा उल्लेख छ । पाल्पाको रामपुर नगरपालिका–१ कासिबन क्षेत्रमा कालीगण्डकी करिडोर र माथागढी गाउँपालिका–१ अगाहाखोलानजिक सिद्धार्थ राजमार्ग पहिरो तथा अविरल वर्षाका कारण अवरुद्ध छ ।
कर्णाली प्रदेश
कालिकोटको शुभकालिका गाउँपालिका–१ मा कर्णाली राजमार्ग सडकखण्ड अवरुद्ध छ ।




विश्व खबर 


















