काठमाडौं– पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पालिएका पशु चौपायमा रेविजको संक्रमण पुष्टि भएको छ । नगरपालिकाका विभिन्न वडामा पशुमा रेविजका लक्षण देखिएपछि नमूना परीक्षण गर्दा वडा नम्बर ९ र १० का पशुमा संक्रमण पुष्टि भएको हो ।
पशु सेवा कार्यालयका प्रमुख डा। प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रेविज संक्रमण पुष्टि भएको छ । रेविज लागेका गाईभैँसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मानिस तथा अन्य जनावरलाई टोक्न खोज्ने, पानी र घाँस खान नमान्ने, दूध उत्पादन घट्ने र अन्ततः मर्ने जस्ता लक्षण देखाउने गरेका छन् ।
कुकुर तथा बिरालोलाई नियमित रूपमा रेविजविरुद्धको खोप लगाउने गरिए पनि अन्य पशु चौपायमा भने खोप लगाउने प्रचलन न्यून रहेको डा। न्यौपानेले बताउनुभयो । संक्रमण पुष्टि भएपछि प्रभावित क्षेत्रमा रहेका पशु चौपायमा रेविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
रेविज ‘लाइसा’ समूहको भाइरसका कारण लाग्ने रोग हो । कुकुर तथा जंगली जनावरको टोकाइबाट मानिस तथा अन्य जनावरमा सर्न सक्ने भएकाले संक्रमण अन्य पालिकामा समेत फैलिन सक्ने भन्दै पशुपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार नगरपालिकाका वडा नम्बर ९, १० र १६ मा रेविजको संक्रमण देखिएको छ । संक्रमित तथा शंकास्पद पशुको नमूना संकलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको छ ।
चालु आर्थिक वर्षमा मात्रै रत्ननगरमा चारवटा नमूना संकलन गरिएको छ । तीमध्ये दुईवटामा संक्रमण पुष्टि भइसकेको छ भने थप दुई नमूना परीक्षणका लागि पठाउने तयारी भइरहेको राजभण्डारीले जानकारी दिनुभयो । पशु मरेपछि मात्रै नमूना परीक्षणका लागि पठाउने गरिएको छ ।
उनका अनुसार रेविजको लक्षण देखिएको करिब नौदेखि १० दिनको अवधिमा संक्रमित पशु मर्ने गरेका छन् । वडा नम्बर ९, १० र १६ मा देखिएको संक्रमण न्याउरी मुसा तथा स्यालको टोकाइबाट पशुमा सरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
संक्रमण देखिएका क्षेत्रमा पशु तथा मानिसलाई समेत रेविजविरुद्धको खोप तथा आवश्यक उपचारात्मक सेवा उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ ।
पशु चिकित्सकहरूले जंगली जनावर तथा कुकुरको टोकाइबाट रेविज सर्न सक्ने भएकाले विशेषगरी जंगल आसपासका क्षेत्रमा बसोबास गर्ने किसानलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
जनावरले टोकेमा वा चिथोरेमा घाउलाई तत्काल कम्तीमा १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुन चिकित्सकहरूले सुझाव दिएका छन् । त्यसपछि चिकित्सकको सल्लाहअनुसार रेविजविरुद्धको खोप तत्काल सुरु गर्नुपर्ने हुन्छ ।
घरपालुवा कुकुर तथा बिरालालाई हरेक वर्ष नियमित रूपमा रेविजविरुद्धको खोप लगाउन पनि आग्रह गरिएको छ ।
त्यस्तै, असामान्य वा अनौठो व्यवहार देखाउने पशुलाई मानिस तथा अन्य जनावरबाट टाढा सुरक्षित स्थानमा राख्न र त्यस्ता लक्षण देखिएमा तत्काल सम्बन्धित पशु सेवा निकायलाई खबर गर्न आग्रह गरिएको छ ।
रेविजको संक्रमण पुष्टि भएपछि रत्ननगरका प्रभावित क्षेत्रमा सतर्कता बढाइएको छ । सम्भावित संक्रमण थप फैलिन नदिन पशुपालक, स्थानीय तह र पशु स्वास्थ्यकर्मीबीच समन्वय आवश्यक देखिएको छ ।























