काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले कर्णाली प्रदेशलाई पूर्ण, भरपर्दो र गुणस्तरीय विद्युत् पहुँच भएको प्रदेश बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् ।
राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले राष्ट्रिय प्रसारण लाइनसँगै वैकल्पिक ऊर्जालाई समानान्तर रूपमा विस्तार गरेर कर्णालीको पूर्ण विद्युतीकरण गरिने बताए ।
हाल कर्णालीका ७४.३० प्रतिशत जनसंख्यामा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पहुँच पुगेको छ । राष्ट्रिय ग्रिड नपुगेका क्षेत्रमा लघु जलविद्युत्, सौर्य मिनीग्रिड र घरेलु सौर्य प्रणालीमार्फत विद्युत् सेवा विस्तार भइरहेको उनले जानकारी दिए ।
२०७९ सालको अन्तिम चरण विद्युतीकरण योजनाअन्तर्गत पहिचान भएका १ लाख १ हजार १८७ घरधुरीमध्ये अब करिब १० हजार घरधुरीमा मात्र विद्युत् पहुँच पुग्न बाँकी रहेको मन्त्री श्रेष्ठले बताए ।
सुर्खेतको १३२ केभी सबस्टेसन सञ्चालनमा आइसकेको छ भने सुर्खेत–दैलेख प्रसारण लाइन र दैलेखको चुप्रा सबस्टेसन निर्माण अन्तिम चरणमा छन्। दैलेख–कालीकोट–जुम्ला १३२ केभी प्रसारण लाइनलगायत आयोजना पनि निर्माण तथा प्रक्रियाका विभिन्न चरणमा छन् ।
मन्त्री श्रेष्ठले ग्रिड विस्तार सम्भव नभएका दुर्गम क्षेत्रमा वैकल्पिक ऊर्जामार्फत विद्युत् पहुँच पुर्याइने बताए। उनले विद्युतीकरणलाई नागरिकको आधारभूत अधिकार, सामाजिक न्याय र आर्थिक समृद्धिको आधारका रूपमा सरकारले अघि बढाएको स्पष्ट पारे ।


विश्व खबर 




















