काठमाडौं– नेपाल एलपिजी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले ग्यास आपूर्ति प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन सिलिन्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार बसेको बैठकमा बोल्दै घिमिरेले ग्यास क्षेत्रमा देखिएका दीर्घकालीन समस्या समाधानका लागि प्रविधिमैत्री अनुगमन आवश्यक रहेको बताउनुभयो ।
उहाँले विगतमा लागू गरिएको ‘उपभोक्ता कार्ड’ प्रणाली प्रभावकारी हुन नसकेको भन्दै अब सिलिन्डरमै स्थायी परिचय कोड राखेर डिजिटल माध्यमबाट निगरानी गर्नुपर्ने धारणा राख्नुभयो ।
घिमिरेका अनुसार नयाँ सिलिन्डर उत्पादन गर्दा छुट्टै धातुको पाता राखी त्यसमा स्थायी रूपमा परिचय कोड अंकित गर्न सकिन्छ। यस्तो प्रणालीले अभावको समयमा मात्र नभई सामान्य अवस्थामा पनि उद्योगी, विक्रेता, उपभोक्ता र सरकारलाई सिलिन्डरको आवागमन तथा अवस्थाबारे पारदर्शी तथ्याङ्क उपलब्ध गराउने उहाँको भनाइ छ ।
सिलिन्डरमा रङ लगाएर मात्र परिचय छुट्याउने व्यवस्था प्रभावकारी नहुने उहाँले बताउनुभयो। नेपालको कठिन भौगोलिक अवस्था र कच्ची सडकका कारण ढुवानीका क्रममा सिलिन्डर कुच्चिने तथा रङ उप्किने समस्या हुने भएकाले नियमित जलदाब परीक्षण र रङ लगाउनुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
अवैध रूपमा ग्यास सार्ने कामप्रति चिन्ता
घिमिरेले बजारमा भइरहेको असुरक्षित ग्यास सार्ने कामप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो। तराई तथा काठमाडौंका विभिन्न स्थानमा ठूलो सिलिन्डरबाट सानो सिलिन्डरमा असुरक्षित रूपमा ग्यास सार्ने काम भइरहेको भन्दै उहाँले यसबाट उपभोक्ता ठगिनुका साथै गम्भीर दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
आधिकारिक ग्यास उद्योगहरूले पाँच किलो क्षमताका सिलिन्डर नभरिरहेको अवस्थामा पनि बजारमा यस्ता सिलिन्डर व्यापक रूपमा देखिनुले थप सुरक्षा चुनौती सिर्जना गरेको उहाँको भनाइ छ ।
जनकपुरलगायतका क्षेत्रमा ग्यासको असुरक्षित कारोबार तथा स्थानान्तरणका कारण पटकपटक विस्फोट र धनजनको क्षति हुने गरेको उल्लेख गर्दै घिमिरेले यस्तो गतिविधि नियन्त्रणका लागि कडा अनुगमन आवश्यक रहेको बताउनुभयो ।
उहाँले ग्यास सिलिन्डरको उत्पादनदेखि उपभोक्तासम्मको सम्पूर्ण आपूर्ति शृंखलालाई डिजिटल प्रणालीमा आबद्ध गरी नियमित निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।


विश्व खबर 




















