काठमाडौं– सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले खानी तथा भूगर्भ विभागलाई तिर्नुपर्ने करिब ७५ लाख रुपैयाँ बक्यौता उद्योग आफैंले नभई सरकारले तिरिदिएको खुलेको छ । करदाताबाट उठेको रकमबाट बक्यौता भुक्तानी गरिएपछि उद्योगको चुनढुंगा उत्खनन् अनुमतिपत्र नवीकरणको बाटो खुलेको हो ।
उद्योगले विभागलाई तिर्नुपर्ने ७४ लाख ९७ हजार ३३१ रुपैयाँ ९५ पैसा अर्थ मन्त्रालयले उपलब्ध गराएको स्रोतको दाबी छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले उक्त रकम विभागलाई भुक्तानी गरिसकेको जनाइएको छ ।
सरकारी स्वामित्वकै एउटा उद्योगले अर्को सरकारी निकायलाई तिर्नुपर्ने दायित्व उद्योगको आफ्नै आम्दानीबाट नभई राज्यकोषबाट भुक्तानी गरिएको देखिएको छ । यससँगै उद्योगको बक्यौता दायित्वसमेत सरकारले बेहोरेको छ । एउटै निर्णयबाट बक्यौता भुक्तानी र अनुमतिपत्र नवीकरण स्रोतका अनुसार २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उदयपुर सिमेन्ट उद्योगसँग सम्बन्धित दुई महत्वपूर्ण निर्णय गरेको थियो ।
बैठकले उद्योगको साविकमा रद्द भएको चुनढुंगा तथा रातोमाटो उत्खनन अनुमतिपत्र खानी तथा खनिज पदार्थ ऐन, २०४२ को दफा १२ को उपदफा ९३० बमोजिम पुनः जारी गर्न खानी तथा भूगर्भ विभागलाई स्वीकृति दिने निर्णय गरेको थियो । त्यसैगरी, उद्योगले खानी तथा भूगर्भ विभागलाई तिर्नुपर्ने बक्यौता रकम अर्थ मन्त्रालयले उपलब्ध गराउने निर्णयसमेत गरिएको थियो ।
दुवै निर्णय एकैपटक भएकाले बक्यौता रकम भुक्तानी र चुनढुंगा उत्खनन अनुमतिपत्र पुनः जारी गर्ने प्रक्रिया प्रत्यक्ष रूपमा जोडिएको देखिएको छ । उद्योगले तिर्नुपर्ने रकम सरकारले उपलब्ध गराएपछि विभागतर्फको वित्तीय दायित्व हटेको र त्यसपछि अनुमतिपत्र नवीकरणको प्रक्रिया अघि बढ्ने अवस्था बनेको हो ।
उदयपुर सिमेन्ट उद्योगको उत्पादनका लागि आवश्यक प्रमुख कच्चा पदार्थ चुनढुंगा हो। चुनढुंगा उत्खननको अनुमतिपत्र र त्यससँग सम्बन्धित कानुनी तथा वित्तीय दायित्वको व्यवस्थापन उद्योगको नियमित सञ्चालनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।
राज्यकोषबाट उद्योगको बक्यौता भुक्तानी गरिनुले सरकारी स्वामित्वका संस्थानको वित्तीय व्यवस्थापन, आफ्नै स्रोतबाट दायित्व पूरा गर्ने क्षमता तथा सरकारी हस्तक्षेपको विषयमा समेत प्रश्न उठाएको छ ।























