काठमाडौं – उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लामा सोमबार बिहान चलेको तीव्र हावाहुरीले विद्यालय र स्थानीयका घर तथा गोठका छाना उडाएको छ । हावाहुरीका कारण सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडेको छ । स्थानीय शिक्षिका सपना गुरुङका अनुसार विद्यालयमा जडान गरिएका जस्तापाता हावाहुरीले उडाएको हो ।
हावाहुरीले कच्ची अवस्थामा रहेका केही घर तथा गोठका छाना पनि उडाएको उनले जानकारी दिइन् । अचानक चलेको तीव्र हावाले गाउँमा क्षति पुर्याउनुका साथै जङ्गलका पातपतिङ्गरसमेत उडाएर गाउँभरि थुपारेको छ ।
अचम्मको कुरा, हावाहुरी चलिरहँदा पनि आकाश भने खुला रहेको स्थानीयले बताएका छन् । शिक्षिका गुरुङका अनुसार आकाशमा बादल नलागी घाम लागिरहेको अवस्थामा तीव्र हावा चलिरहेको छ ।
हावाहुरीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ । विद्यालयको छाना उडेपछि पठनपाठनमा समेत असर पर्न सक्ने देखिएको छ ।






















