काठमाडौं– नाटोका महासचिव मार्क रुट्टेले अन्तरिक्षमा उत्पन्न हुन सक्ने जुनसुकै सुरक्षा खतराबाट गठबन्धनका सदस्य राष्ट्रहरूको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रूसले आणविक हतियार जडित भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने तयारी गरिरहेको भन्ने रिपोर्ट सार्वजनिक भएपछि उनले यस्तो बताएका हुन् ।
जर्मन सञ्चारमाध्यमका अनुसार रुसले आगामी ६० दिनभित्र आणविक हतियारसहितको भूउपग्रह प्रक्षेपण गर्न सक्ने सम्भावनाबारेका गुप्तचर प्रतिवेदन यसै महिना नाटोका सदस्य राष्ट्रहरूबीच आदानप्रदान गरिएको थियो। यद्यपि, उक्त प्रतिवेदन कुन देशको गुप्तचर निकायले तयार पारेको हो भन्ने स्पष्ट भएको छैन ।
जर्मनीको बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा यसबारे सोधिएको प्रश्नको जवाफ दिँदै रुट्टेले नाटोले आफ्नो क्षेत्रको प्रत्येक इन्च भूभागको सुरक्षा सुनिश्चित गर्ने बताए ।
उनले भने, ‘हामी सधैँ नाटोको भूभागको प्रत्येक इन्चको रक्षा गर्ने सुनिश्चित गर्छौँ । यसमा अन्तरिक्षसँग सम्बन्धित सुरक्षा जोखिमबाट सुरक्षित रहनु पनि समावेश छ ।’
रूसको राष्ट्रपतीय कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने आफूले पछिल्लो प्रतिवेदन नहेरेको बताएका छन् ।
उनले अज्ञात स्रोतलाई उद्धृत गरेर सार्वजनिक गरिएका रिपोर्टलाई गम्भीरतापूर्वक लिन आवश्यक नरहेको टिप्पणी गरे ।
जर्मनीस्थित रूसी दूतावासले पनि ती आरोपलाई निराधार भन्दै खण्डन गरेको छ ।
दूतावासले यस्ता समाचारलाई रूसविरुद्ध सञ्चालित प्रचार अभियानको हिस्सा भएको दाबी गरेको छ ।
रुट्टेले नाटोसँग सम्भावित खतराको सामना गर्न विभिन्न विकल्प रहेको पनि बताए ।
सैन्य क्षेत्रको जोखिम मूल्याङ्कन गर्दै आवश्यकताअनुसार प्रतिरोधात्मक क्षमता र रक्षा रणनीतिमा परिवर्तन गरिने उनको भनाइ थियो ।
आणविक हतियार जडित ‘स्पुतनिक–एस’ भूउपग्रहको चर्चा
जर्मन सार्वजनिक प्रसारण संस्था एनडीआर र डब्लूडीआर तथा पत्रिका ‘जुड्डोयचे साइटुङ’ले जर्मनीका सैन्य तथा गुप्तचर स्रोतलाई उद्धृत गर्दै रुसले ‘स्पुतनिक–एस’ नाम दिइएको भूउपग्रह प्रक्षेपणको तयारी गरिरहेको रिपोर्ट सार्वजनिक गरेका छन् ।
रिपोर्टअनुसार उक्त भूउपग्रहमा आणविक हतियार जडान गरिएको हुन सक्ने बताइएको छ ।
यसको प्रयोग अन्य भूउपग्रहलाई निष्क्रिय पार्न वा नष्ट गर्न सकिने गरी विकास गरिएको आशंका गरिएको छ ।
विशेषगरी सैन्य सञ्चार, निगरानी तथा नेभिगेसनका लागि प्रयोग हुने महत्त्वपूर्ण भूउपग्रहलाई निशाना बनाउन सक्ने सम्भावनाले अन्तरिक्ष सुरक्षाबारे चिन्ता बढाएको छ ।
रुट्टेसँगै पत्रकार सम्मेलनमा उपस्थित जर्मन चान्सलर फ्रेडरिक मर्जले भने रूसको योजनासम्बन्धी रिपोर्टको पुष्टि वा खण्डन गरेनन् ।
तर उनले यस्ता रिपोर्टले रूसले द्वन्द्वलाई कुन तहसम्म विस्तार गर्न सक्ने तयारी गरिरहेको छ भन्ने संकेत गर्ने बताए ।
मर्जले भने, ‘रुसले अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने योजना बनाइरहेको भन्ने रिपोर्ट नयाँ होइनन् । तर ती रिपोर्ट उत्तिकै चिन्ताजनक छन् ।’
यसअघि जर्मन सरकारका प्रवक्ताले पनि रिपोर्टको पुष्टि वा खण्डन नगरे पनि सरकारले यसलाई गम्भीरतापूर्वक लिएको बताएका थिए ।
यद्यपि, काल्पनिक जोखिमका कारण अनावश्यक त्रास फैलाउन नहुने उनको भनाइ थियो ।
युरोपेली अन्तरिक्ष एजेन्सीका प्रमुख जोसेफ एसबाखरले अन्तरिक्षमा आणविक हतियार तैनाथ हुनुलाई ‘सबैभन्दा डरलाग्दो सम्भावित अवस्था’ भनेका छन् ।
सन् १९६७ को अन्तरिक्ष सन्धिले आणविक हतियार निषेध गर्छ
अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने विषय अन्तर्राष्ट्रिय कानुनसँग पनि जोडिएको छ ।
रुस सन् १९६७ मा भएको ‘आउटर स्पेस ट्रिटी’ अर्थात् अन्तरिक्ष सन्धिको हस्ताक्षरकर्ता राष्ट्र हो ।
उक्त सन्धिले पृथ्वीको कक्षमा आमविनाशकारी हतियार (न्यूक्लियर, जैविक तथा रासायनिक हतियार) तैनाथ गर्न प्रतिबन्ध लगाएको छ ।
तर अन्तरिक्षमा अन्य प्रकारका सैन्य क्षमता विकास गर्ने प्रतिस्पर्धा भने जारी छ ।
अमेरिका र चीनलगायतका मुलुकले पनि अन्तरिक्षमा आफ्नो सैन्य क्षमता विस्तार गर्ने प्रयास गरिरहेका छन् ।
विशेषगरी प्रतिस्पर्धी राष्ट्रका भूउपग्रहलाई लक्षित गर्ने प्रविधिको विकासले अन्तरिक्षलाई सम्भावित सैन्य प्रतिस्पर्धाको नयाँ क्षेत्र बनाएको छ ।
सैन्य सञ्चार, निगरानी र नेभिगेसन प्रणालीका लागि भूउपग्रह अत्यन्त महत्त्वपूर्ण मानिन्छन् ।
अमेरिकाले पनि सन् २०२४ मा रुसमाथि लगाएको थियो आरोप
सन् २०२४ मा अमेरिकाले रूसले आणविक हतियार जडित अन्तरिक्षमा आधारित भूउपग्रहविरोधी हतियार विकास गरिरहेको आरोप लगाएको थियो ।
तर रूसले उक्त आरोप अस्वीकार गरेको थियो ।
त्यसबेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए ।
उनले भनेका थिए, ‘हाम्रो धारणा स्पष्ट र पारदर्शी छ । हामी सधैँ अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने कार्यको स्पष्ट विरोध गर्दै आएका छौँ र अहिले पनि त्यसको विपक्षमा छौँ ।’
यसैबीच, गत सेप्टेम्बरमा अमेरिकी वायुसेना सचिव ट्रोय मेइङ्कले अमेरिकासँग पृथ्वीको कक्षमा परिक्रमा गरिरहेका ‘अन्तरिक्ष नियन्त्रणसम्बन्धी हतियार’ रहेको बताएका थिए ।
तर उनले त्यस्ता हतियारको प्रकृति र क्षमताबारे विस्तृत जानकारी दिएका थिएनन् ।
अमेरिकी घोषणापछि क्रेमलिनका प्रवक्ता पेस्कोभले अन्तरिक्ष कुनै पनि प्रकारका हतियारबाट मुक्त हुनुपर्ने बताएका थिए ।
रूसले आणविक हतियार जडित भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको भन्ने पछिल्लो रिपोर्टको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।
तर यसले अन्तरिक्षमा सैन्य प्रतिस्पर्धा, भूउपग्रहको सुरक्षा र आणविक हतियारको सम्भावित विस्तारबारे अन्तर्राष्ट्रिय चासो पुनः बढाएको छ । –बीबीसी





















