काठमाडौं – औषधि उत्पादनमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत) को गुणस्तर अनिवार्य रूपमा सुनिश्चित गर्न औषधि व्यवस्था विभागले औषधि उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ । औषधि उद्योगमा विभिन्न प्रयोजनका लागि सहायक कच्चा पदार्थका रूपमा प्रयोग हुँदै आएको रेक्टिफाइड स्पिरिटले औषधिको गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यसको गुणस्तर सुनिश्चित गर्न विभागले यस्तो निर्देशन दिएको हो ।
विभागका महानिर्देशक भरत भट्टराईका अनुसार हालसम्म विभिन्न अल्कोहल डिस्टिलरी, चिनी मिललगायत उद्योगबाट व्यावसायिक रूपमा उत्पादन तथा बिक्री वितरण हुने रेक्टिफाइड स्पिरिट औषधि उद्योगमा प्रयोग हुँदै आएको छ । तर, त्यसको उत्पादन तथा प्रशोधन प्रक्रिया आधिकारिक फार्माकोपियामा निर्धारित मापदण्डअनुसार भए–नभएको सुनिश्चित गर्न आवश्यक रहेको उहनले बताए ।
उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिटको गुणस्तर भारतीय फार्माकोपिया, ब्रिटिस फार्माकोपिया र संयुक्त राज्य अमेरिकाको फार्माकोपियालगायत मान्यताप्राप्त मापदण्डअनुरूप हुनुपर्ने महानिर्देशक भट्टराईले जानकारी दिए ।
विभागले सोमबार सूचना जारी गर्दै निर्धारित मापदण्डअनुसार गुणस्तर कायम भएको रेक्टिफाइड स्पिरिट मात्र प्रयोग गर्ने व्यवस्था मिलाउन उद्योग तथा सरोकारवालालाई निर्देशन दिएको छ । उक्त व्यवस्था सूचना प्रकाशित भएको मितिले ३५ दिनपछि अनिवार्य रूपमा लागू हुने विभागले जनाएको छ ।
यसैबीच, विभागले प्लाटिनम समूहका औषधि तथा डायलाइसिस सोलुसनको बजार उपलब्धताबारे पनि जानकारी गराएको छ । जीवनरक्षक औषधिको निरन्तर आपूर्ति सुनिश्चित गर्दै बिरामीलाई सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभागले सम्बन्धित औषधि उपलब्ध गराउने फर्म तथा वितरकको विवरण सार्वजनिक गरेको हो ।
विभागका अनुसार पछिल्लो समय प्लाटिनम समूहअन्तर्गतका सिस्प्लाटिन, कार्बोप्लाटिन तथा डायलाइसिस सोलुसन बजारमा उपलब्ध नभएको वा न्यून रहेको जानकारी प्राप्त भएपछि उपलब्धता सहज बनाउन पहल गरिएको हो ।
विभागले सम्बन्धित आयातकर्तालाई औषधिको मौज्दात, प्राप्ति तथा वितरणको अद्यावधिक अभिलेख व्यवस्थित रूपमा राख्न र बजारमा नियमित उपलब्धता सुनिश्चित गर्न अनुरोध गरेको छ ।
त्यस्तै, दसैँलगत्तै प्राविधिक स्तरोन्नति (पीएचपी अपग्रेड) हुन नसक्दा अवरुद्ध रहेको विभागको अनलाइन सेवा पनि आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । विभागले सोमबार जारी गरेको सूचनामार्फत अनलाइनबाट प्रदान गरिँदै आएका दर्तालगायतका सेवा नियमित रूपमा सञ्चालन हुने जानकारी दिएको छ ।





















