काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बदलिँदो समय र आवश्यकताअनुसार नेपालको शिक्षा प्रणालीमा परिवर्तन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा प्रशिक्षण मेलाको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष अग्रवालले शिक्षा र रोजगारी बजारबीचको दूरी कम गर्न समयअनुकूल शैक्षिक प्रणाली आवश्यक रहेको बताएका हुन् ।
उनले शैक्षिक संस्था र उद्योग तथा व्यवसाय क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप र रोजगार बजारमा आवश्यक दक्षता प्रदान गर्न शिक्षण संस्था र निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
अध्यक्ष अग्रवालले कृत्रिम बौद्धिकतालाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए । अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण तथा नवप्रवर्तनका क्षेत्रमा कृत्रिम बौद्धिकताको प्रभावकारी उपयोग गर्नुपर्ने उनले बताए ।
उनका अनुसार प्रविधिको तीव्र विकाससँगै रोजगारीको प्रकृति पनि परिवर्तन भइरहेको छ । त्यसैले विद्यार्थीलाई भविष्यमा आवश्यक पर्ने ज्ञान, सीप र प्रविधिसँग परिचित गराउन शिक्षा प्रणालीलाई पनि सोहीअनुसार परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।
रोजगारी तथा प्रशिक्षण मेलाले विद्यार्थीलाई निजी क्षेत्रका रोजगारदाता तथा व्यवसायसँग प्रत्यक्ष सम्पर्कमा पुग्ने अवसर प्रदान गर्ने भएकाले यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा समेत उनले जोड दिए ।























