काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना अस्वीकार गरेपछि यूएईसहित आठ देशले इजरायलको आलोचना गरेका छन् ।
यूएई, कतार, जोर्डन, इन्डोनेसिया, पाकिस्तान, टर्की, साउदी अरब र इजिप्टका विदेशमन्त्रीहरूले संयुक्त वक्तव्य जारी गर्दै शान्ति योजना अस्वीकार गर्नु गाजामा युद्ध अन्त्य गर्ने प्रयासका लागि गम्भीर अवरोध भएको बताएका छन् ।
हमासको निःशस्त्रीकरण नभएसम्म इजरायली सेना गाजाबाट फिर्ता नहुने नेतान्याहूको अडानपछि यस्तो प्रतिक्रिया आएको हो ।
ट्रम्पको योजनामा हमासले हतियार बुझाएपछि इजरायली सेना क्रमशः गाजाबाट हट्ने र त्यहाँ प्यालेस्टिनी प्रहरी तथा अन्तर्राष्ट्रिय स्थिरीकरण बल परिचालन गर्ने प्रस्ताव छ ।
आठ देशले इजरायलको कदमले ट्रम्पको शान्ति प्रयास कमजोर पार्ने भन्दै अमेरिकालाई योजनाको कार्यान्वयनमा अवरोध हुन नदिन तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
यसैबीच, ट्रम्पका दूत ज्यारेड कुश्नर र गाजाका लागि बोर्ड अफ पिसका दूत निकोलाय म्लादेनोभले इजिप्टमा युद्धविराम कार्यान्वयनबारे मध्यस्थकर्ताहरूसँग छलफल गरेका छन् ।
कुश्नरले सोमबार इजरायली प्रधानमन्त्री नेतान्याहूसँग भेट गर्ने कार्यक्रम छ ।
हमासले भने ‘निःशस्त्रीकरण’ शब्द अस्वीकार गरे पनि बोर्ड अफ पिसको निगरानीमा बन्ने नयाँ प्यालेस्टिनी निकायलाई आफ्ना हतियार हस्तान्तरण गर्न तयार रहेको जनाएको छ ।


विश्व खबर 




















