काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित गरेपछि होर्मुज जलमार्गलाई अमेरिकाको क्षेत्र घोषणा गर्ने बताएपछि इरानले कडा प्रतिक्रिया जनाएको छ ।
इरानका सहायक विदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज ‘इरानको थियो, छ र रहनेछ’ भन्दै सामाजिक सञ्जालको पोस्ट वा चुनावी भाषणका भरमा कब्जा गर्न नसकिने बताएका छन् ।
उनले इरान कुनै धम्कीबाट नडराउने पनि स्पष्ट पारे ।
ट्रम्पले इरानमाथि दबाब बढाउँदै युद्धका कारण अमेरिकी जनताले महँगो पेट्रोलका लागि तयार हुनुपर्ने बताएका छन् ।
अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन ४.०८ डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा करिब २९ प्रतिशत बढी हो ।
यता, इरानले होर्मुज जलमार्ग आफ्ना सर्त पूरा नभएसम्म नखोल्ने जनाएको छ ।
उसले युद्ध अन्त्य, समुद्री नाकाबन्दी हटाउने, अमेरिकी सेना फिर्ता, आर्थिक प्रतिबन्ध हटाउने, रोकिएका सम्पत्ति फिर्ता तथा युद्ध क्षतिको क्षतिपूर्तिलगायत माग अघि सारेको छ ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि होर्मुजबाट तेल ढुवानी प्रभावित हुँदै आएको छ ।
जोखिम, नाकाबन्दी र बढ्दो बीमा लागतका कारण यस मार्गबाट दैनिक हुने कच्चा तेलको ढुवानी २ करोड ब्यारेलबाट घटेर करिब ३७ लाख ब्यारेलमा सीमित भएको छ ।


विश्व खबर 




















