काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ सञ्चालन गर्ने घोषणा गरेका छन् ।
स्वतन्त्रता दिवसका अवसरमा लालकिल्लाबाट सम्बोधन गर्दै उनले डिजिटल सार्वजनिक पूर्वाधार र दक्ष शिक्षकको सहयोगमा कक्षा सञ्चालन गरिने बताए ।
विद्यार्थी आन्दोलन र प्रश्नपत्र चुहावट तथा भर्ना अनियमितताप्रति बढ्दो असन्तुष्टिबीच मोदीको घोषणा आएको हो ।
निःशुल्क कोचिङले गरिब तथा मध्यमवर्गीय परिवारको आर्थिक भार घटाउने र महँगो निजी कोचिङका लागि घर छाड्नुपर्ने बाध्यता कम गर्ने उनको भनाइ छ ।
मोदीले आगामी एक वर्षभित्र एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीपको तालिम दिने योजना पनि घोषणा गरेका छन् ।
विद्यार्थी आन्दोलनपछि सरकारले परीक्षा प्रणाली सुधार र प्रश्नपत्र चुहावटमा कडा सजायलगायतका कदम अघि बढाएको छ ।


विश्व खबर 



















