काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का वरिष्ठ सल्लाहकार मोहम्मद रजा नक्दीले अमेरिकासँगको युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वर्तमान कार्यकालको अन्त्यसम्म लम्बिन सक्ने चेतावनी दिएका छन् ।
पीबीएस न्युजआवरसँग कुरा गर्दै नक्दीले युद्ध लम्ब्याएर अमेरिकालाई सैन्य तथा आर्थिक रूपमा कमजोर बनाउने र भविष्यमा इरानमाथि आक्रमण हुन नदिन बलियो ‘डिटरेन्स’ निर्माण गर्ने रणनीति रहेको बताए ।
उनले इरानले दैनिक प्रहार गर्नेभन्दा बढी मिसाइल उत्पादन गरिरहेको दाबी गर्दै युद्ध वर्षौं चले पनि मिसाइल तथा रकेट प्रहार जारी राख्न सक्ने बताए ।
नक्दीले मिसाइल सकिए पनि अमेरिकाका विश्वभर रहेका हजारौँ आर्थिक हितलाई निशाना बनाउन सकिने चेतावनी दिए ।
यद्यपि, उनले सम्भावित लक्ष्य वा त्यसलाई कसरी निशाना बनाउने भन्नेबारे स्पष्ट विवरण दिएनन् ।
उनका अनुसार इरानले वर्तमान युद्धबाट अमेरिकी सैन्य शक्तिबारे महत्वपूर्ण अनुभव हासिल गरिरहेको छ र भविष्यमा कुनै पनि देशले इरानमाथि आक्रमण गर्नुअघि ठूलो मूल्य चुकाउनुपर्ने अवस्था सिर्जना गर्न चाहन्छ ।


विश्व खबर 



















