काठमाडौं– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूसलाई सहयोग गर्न थप हजारौँ सैनिक पठाउने तयारी गरेको दाबी गरेका छन् ।
युक्रेनी स्रोतका अनुसार नोभेम्बर अन्त्यसम्ममा ५० हजारसम्म उत्तर कोरियाली सैनिक रुसमा तैनाथ हुन सक्छन् ।
उनीहरूलाई कुस्र्क, ब्रायन्स्क र बेलगोरोड क्षेत्रमा खटाइने बताइएको छ ।
सन् २०२४ मा रूस र उत्तर कोरियाबीच रक्षा सम्झौता भएपछि प्योङयाङले रुसमा सैनिक पठाउँदै आएको छ ।
यसअघि कुस्र्क क्षेत्रमा करिब १४–१५ हजार सैनिक तैनाथ गरिएको र थप ६ हजार विशेषज्ञ तथा सैन्य निर्माणकर्मी पठाउने सहमति भएको थियो ।
दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार हालसम्म करिब ६ हजार उत्तर कोरियाली सैनिक मारिएका वा घाइते भएका छन् ।
उत्तर कोरियाले रूसलाई ठूलो परिमाणमा तोपका गोला र ब्यालिस्टिक मिसाइलसमेत उपलब्ध गराएको दाबी गरिएको छ ।


विश्व खबर 



















