काठमाडौं– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्ध औपचारिक रूपमा अन्त्य गर्न उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेका छन् ।
जापानी औपनिवेशिक शासनबाट मुक्ति दिवसका अवसरमा बोल्दै उनले आपसी धम्की त्यागेर युद्ध अन्त्यका लागि संवाद सुरु गर्न आह्वान गरे ।
सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सम्झौताबाट नभई युद्धविराममा रोकिएकाले दुई कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् ।
लीले वार्तामार्फत उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने उपायबारे पनि छलफल गर्न सकिने बताए ।
दक्षिण कोरियाले अमेरिकासँग वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गर्न लागेका बेला उनले प्रस्ताव आएको हो ।
उत्तर कोरियाले उक्त अभ्यासलाई आक्रमणको तयारी भन्दै विरोध गर्दै आएको छ ।
राष्ट्रपति लीले जुन २०२५ मा पदभार सम्हालेपछि उत्तर कोरियासँग बिनासर्त संवादको नीति अघि सार्दै आएका छन् ।
तर, प्योङयाङले उनका प्रस्तावमा प्रतिक्रिया दिएको छैन ।
बरु उसले रुससँग सैन्य सम्बन्ध थप सुदृढ गर्दै आएको छ ।
विश्लेषकहरूका अनुसार युक्रेन युद्धमा सहयोग गरेबापत उत्तर कोरियाले रुसबाट आर्थिक, खाद्य, ऊर्जा तथा सैन्य प्रविधिसम्बन्धी सहयोग पाइरहेको छ ।
यसबीच दक्षिण कोरियामा अमेरिकाका करिब २८ हजार ५०० सैनिक तैनाथ छन् ।
अमेरिका–दक्षिण कोरियाको संयुक्त सैन्य कमान्डले उत्तर कोरियाले युक्रेन युद्धबाट प्राप्त गरेको सैन्य अनुभवले क्षेत्रीय सुरक्षा चुनौती थप जटिल बनाएको जनाएको छ ।


विश्व खबर 



















