काठमाडौं– भरतपुर महानगरपालिका आसपासको बस्ती क्षेत्रमा बच्चासहितको चितुवा देखिन थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषले चितुवा नियन्त्रण तथा बस्ती सुरक्षा प्रयास तीव्र पारेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक तीर्थ लामाका अनुसार बस्तीमा देखिएको चितुवा बच्चासहित भएकाले बच्चालाई बाघ तथा भाले चितुवाबाट जोगाउन मानवबस्ती नजिक आएको हुनसक्ने अनुमान गरिएको छ । उनले पोथी चितुवाले आफ्ना बच्चालाई बाघबाट मात्र होइन, भाले चितुवाबाट पनि जोगाउनुपर्ने अवस्था रहने बताए ।
वन्यजन्तु प्राविधिक लामाका अनुसार नियन्त्रणमा लिइएको एउटा चितुवा करिब नौ महिनाको बच्चा हो । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा घुमिरहेको हुनसक्ने उनले बताए ।
चितुवा सामान्यतया दुईदेखि तीन वर्षमा वयस्क हुन्छ । बच्चालाई एकदेखि दुई वर्षसम्म माउले हुर्काएर पछि छुट्टै क्षेत्र बनाउन छाड्ने गर्दछ । बच्चा हुर्काएपछि चितुवा लामो समय एउटै स्थानमा नबस्ने र यसको औसत आयु करिब १० वर्ष हुने प्राविधिक लामाले जानकारी दिए ।
डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार चितुवा नियन्त्रणका लागि ड्रोन, सिसी क्यामेरा, खोर (केज ट्र्याप) र खुट्टा ट्र्याप (लेग ट्र्याप) प्रयोग गरिएको छ ।
यस क्रममा अविनाश पोल्ट्री फार्म नजिकको झाडीबाट एउटा बच्चा चितुवा नियन्त्रणमा लिएर राष्ट्रिय प्रकृति संरक्षण कोषको जिम्मामा पठाइएको छ । माउ चितुवा भने अर्को बच्चासहित अझै बस्ती क्षेत्रमा देखिएको जनाइएको छ। चितुवा रुख चढ्न सक्ने भएकाले नियन्त्रणमा लिन कठिन हुने वन्यजन्तु प्राविधिक लामाले बताए।
वन कार्यालयका अनुसार यस्तो चितुवा प्रायः बस्ती नजिकका सामुदायिक वन क्षेत्रमा बस्ने र कुकुरलगायतका जनावर सिकार गर्ने गर्दछ । बस्तीमा पसेको चितुवालाई नियन्त्रणमा लिन र स्थानीयलाई सुरक्षित राख्न सबै प्रयास जारी रहेको डिभिजन वन कार्यालय चितवनले जनाएको छ ।























