काठमाडौं– अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यास उल्ची फ्रिडम सिल्डको तयारी तीव्र बनाइरहेका बेला उत्तर कोरियाले त्यसको जवाफमा नयाँ स्तरको प्रतिरोध अपनाउने चेतावनी दिएको छ ।
यस वर्षको अभ्यासमा ड्रोन, साइबर आक्रमण र जीपीएस जामिङजस्ता आधुनिक युद्ध क्षमतामा विशेष ध्यान दिइएको छ ।
रुस–युक्रेन युद्धबाट उत्तर कोरियाली सैनिकले हासिल गरेको अनुभवलाई समेत ध्यानमा राखेर अभ्यास सञ्चालन गर्न लागिएको अमेरिकी र दक्षिण कोरियाली पक्षले जनाएको छ ।
प्योङयाङले भने यस्ता सैन्य अभ्यासलाई आफूविरुद्धको आक्रमणको पूर्वाभ्यास भन्दै विरोध गर्दै आएको छ ।
उत्तर कोरियाको विदेश मन्त्रालयले नयाँ स्तरको खतरालाई नयाँ स्तरको प्रतिरोधमार्फत जवाफ दिने आफ्नो सुरक्षा नीति रहेको जनाएको छ ।
यसै साता उत्तर कोरियाले जापानको सागरमा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो, जसलाई आगामी संयुक्त सैन्य अभ्यासप्रतिको असन्तुष्टिको सङ्केतका रूपमा हेरिएको छ ।
विश्लेषकहरूका अनुसार रुससँग बढ्दो सैन्य सम्बन्धका कारण उत्तर कोरियाको युद्ध क्षमता र रणनीतिक भूमिका परिवर्तन हुँदै गएको छ ।
यद्यपि केही विशेषज्ञले प्योङयाङले तनाव बढाउँदै पनि भविष्यमा अमेरिकासँग वार्ताको सम्भावना खुला राख्न खोजेको हुन सक्ने बताएका छन् ।


विश्व खबर 



















