images
images
  • ट्रम्पले लगाए ड्रोन आयातमा १०० प्रतिशत भन्सार शुल्क

    वाशिङटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन तथा तिनका पार्टपुर्जाको आयातमा भारी भन्सार शुल्क लगाउने घोषणा गरेका छन् ।

    ह्वाइट हाउसले यो कदम अमेरिका विदेशी ड्रोन स्रोतहरूमा अत्यधिक निर्भर रहेको भन्दै राष्ट्रिय सुरक्षाको दृष्टिले उठाइएको बताएको छ ।

    राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको घोषणापत्रअनुसार राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील मानिएका निश्चित आकार र क्षमताका ड्रोनहरूमा १०० प्रतिशत एड भ्यालोरेम (मूल्यअनुसार) शुल्क लगाइनेछ ।

    त्यस्तै, साना आकारका ड्रोनहरूमा २५ प्रतिशत शुल्क लागू हुनेछ ।

    ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार युरोपेली संघ, जापान, लिचेनस्टाइन, दक्षिण कोरिया, स्विट्जरल्यान्ड र ताइवानबाट आयात हुने ड्रोन तथा तिनका पार्टपुर्जामा १५ प्रतिशत भन्सार शुल्क लगाइनेछ भने बेलायतबाट आउने ड्रोनमा १० प्रतिशत शुल्क लाग्नेछ ।

    राष्ट्रपति ट्रम्पले भन्सार शुल्कलाई आफ्नो विदेशी तथा व्यापार नीतिहरूको प्रमुख हतियारको रूपमा प्रयोग गर्दै आएका छन् ।

    यद्यपि यो कदमले कानुनी चुनौती र केही विश्लेषकहरूको आलोचना समेत सामना गर्नुपरेको छ ।

    ट्रम्पले आफ्नो घोषणापत्रमा भनेका छन्, ‘वाणिज्य सचिव होवार्ड लुटनिकले मानवरहित हवाई प्रणाली (ड्रोन)को आयातले पार्ने प्रभावबारे छानबिन गर्नुभएको थियो । उहाँले पत्ता लगाउनुभयो कि विदेशी उत्पादकहरूबाट ड्रोन आयातको हिस्सा अत्यधिक ठूलो छ र अमेरिका विदेशी ड्रोन तथा तिनका पार्टपुर्जामा अत्यधिक निर्भर छ ।’

    सचिव लुटनिकको अनुसन्धानले केही विदेशी निकायबाट आउने ड्रोन तथा पार्टपुर्जाले ूसुरक्षा तथा जोखिमका समस्याू खडा गर्ने र अमेरिकी घरेलु उद्योगले सुरक्षा आवश्यकता पूरा गर्न पर्याप्त उत्पादन गर्न नसक्ने निष्कर्ष निकालेको ट्रम्पले बताए ।

    ह्वाइट हाउसका अनुसार नयाँ भन्सार शुल्कहरू २१ दिनभित्र लागू हुनेछन् ।

    विशेष गरी संवेदनशील नभएका ड्रोन पार्टपुर्जाका लागि भने हस्ताक्षर भएको १८० दिनपछि मात्र शुल्क लागू हुनेछ ।

    त्यस्तै, पेन्टागनले संघीय सञ्चार आयोगको कभर्ड लिस्ट बाट छुट दिएका उत्पादनहरूमा पनि हस्ताक्षरको १८० दिनपछि मात्र शुल्क लाग्ने ह्वाइट हाउसले जनाएको छ ।

    यो नीतिले अमेरिका आफैंमा ड्रोन उत्पादन क्षमता विस्तार गर्न प्रोत्साहन दिने लक्ष्य राखेको बताइए पनि विश्व व्यापारमा भने यसको दूरगामी प्रभाव पर्ने विश्लेषकहरूको अनुमान छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images