काठमाडौं– रघुगंगा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा औपचारिक रूपमा सुरु भएको छ। गाउँपालिकाको मौवाफाँटस्थित कार्यालयबाट अब स्थायी लेखा नम्बर (प्यान) जारी, व्यवसायको आयकर दर्ता, प्यान संशोधन, दर्ता खारेजी तथा व्यावसायिक प्यानलाई व्यक्तिगत प्यानमा रूपान्तरण गर्ने सेवा उपलब्ध हुने भएको हो ।
यसअघि यी सेवा लिन रघुगंगाका सेवाग्राहीहरू आन्तरिक राजस्व कार्यालय बागलुङ पुग्नुपर्ने बाध्यता थियो । गाउँपालिकामै सेवा उपलब्ध भएपछि समय र खर्च दुवैको बचत भएको स्थानीयहरूले बताएका छन् ।
गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार करदातासम्बन्धी सामान्य कामका लागि पनि बागलुङ जानुपर्दा सेवाग्राहीले दिनभर समय र अतिरिक्त खर्च बेहोर्नुपर्थ्यो। “अब गाउँपालिकाबाटै सेवा उपलब्ध हुँदा सर्वसाधारण, व्यवसायी र उद्यमीलाई ठूलो राहत पुगेको छ,” उनले बताए ।
सेवाको उद्घाटन गाउँपालिका अध्यक्ष भण्डारी र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले संयुक्त रूपमा गरेका थिए । उद्घाटनका क्रममा अनु अश्विनी कृषि तथा पशुपक्षी फार्मकी सञ्चालक भदेवी तिलिजालाई व्यावसायिक प्यान तथा माधव भण्डारीलाई व्यक्तिगत प्यान प्रदान गरिएको थियो ।
संघीय सरकारले २०८३ कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रघुगंगामा सेवा विस्तार गरिएको हो ।
मौवाफाँटका व्यवसायी रमेश शर्माले गाउँपालिकाबाटै सेवा उपलब्ध भएपछि दुर्गम क्षेत्रका व्यवसायीलाई धेरै सहज भएको बताए । “एक हजार कर तिर्न दुई–तीन हजार खर्च गरेर बागलुङ जानुपर्ने अवस्था थियो । कुइनेमङ्गले, पाखापानीजस्ता विकट बस्तीका बासिन्दालाई अब समय र खर्च दुवै बचत हुने भएको छ,” उनले भने ।
आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले स्थानीय तहबाट करदाता सेवा सञ्चालन हुनु प्रशासनिक संघीयताको प्रभावकारी कार्यान्वयन भएको बताए । उनका अनुसार यसले कर प्रशासनलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप सक्षम र जिम्मेवार बनाउन सहयोग पुग्नेछ ।
स्थानीय व्यवसायीहरूले सेवा नियमित र निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार गाउँमै प्यान र करसम्बन्धी सेवा उपलब्ध हुनु दुर्गम क्षेत्रका साना व्यवसायी, कृषक र उद्यमीका लागि ठूलो राहतको विषय बनेको छ ।























