काठमाडौं– फिफाद्वारा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निलम्बन गरिएपछि नेपाली फुटबल अन्योलमा परेको छ ।
अन्तरराष्ट्रिय प्रतियोगिताबाट नेपाल बाहिरिएको अवस्थामा निलम्बन फुकुवाका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र फिफाबीच समन्वय जारी रहेको बताइएको छ ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले सरकारले विषयलाई उच्च प्राथमिकतामा राखेर आवश्यक छलफल गरिरहेको र केही समयभित्र सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
उनले खेलाडी र फुटबल समर्थकलाई धैर्य गर्न आग्रह गरे ।
पूर्वराष्ट्रिय खेलाडी हरि खड्काले समस्या समाधानका लागि फिफाको गाइडलाइनअनुसार अघि बढ्नुपर्ने र सबै सरोकारवालाबीच संवाद, सहकार्य र समन्वय आवश्यक रहेको बताए ।
उनका अनुसार विवादको प्रत्यक्ष असर खेलाडी, प्रशिक्षक, रेफ्री र अन्य प्राविधिक जनशक्तिमा परेको छ।
यसैबीच नोभेम्बरमा बङ्गलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपाल सहभागी हुन पाउने वा नपाउने विषय एन्फाको निलम्बन फुकुवामा निर्भर छ ।
साफले भने निलम्बन हटेमा नेपाललाई समूह ‘ए’ मा सहभागी गराउने जनाएको छ ।
फिफाले गत असारमा एन्फाको निर्वाचन प्रक्रिया र सरकारी हस्तक्षेपलाई आधार बनाउँदै एन्फालाई अर्को सूचना नआएसम्म निलम्बन गरेको थियो ।























