images
images
  • हिमाली क्षेत्रमा स्वच्छ ऊर्जाको प्रवर्द्धनमा जोड, मार्फामा नमूना परियोजना सुरु हुँदै

    काठमाडौं– देशका उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तन, आधुनिक जीवनशैली, पर्यटकीय गतिविधि तथा घरभित्र र बाहिरको वातावरणमा परेको असर न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रवर्द्धन आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।

    एकीकृत पर्वतीय विकासका लागि अन्तरराष्ट्रिय केन्द्र र प्राक्टिकल एक्सनको पहलमा सञ्चालन हुन लागेको ‘स्वच्छ तापका लागि नवीकरणीय ऊर्जाको प्रवर्द्धन’ परियोजनाको शुभारम्भ कार्यक्रममा सहभागीहरूले स्वच्छ ऊर्जा प्रविधि हिमाली क्षेत्रका लागि अपरिहार्य बन्दै गएको बताएका हुन्।

    उच्च हिमाली क्षेत्रमा वर्षभरि चिसो रहने भएकाले खाना पकाउन र घर तताउन दाउराको अत्यधिक प्रयोग हुने, जसका कारण घरभित्र र बाहिर वायु प्रदूषण बढ्नुका साथै हिमालमा ‘ब्ल्याक कार्बन’को मात्रा वृद्धि हुने र हिउँ पग्लिने समस्या गम्भीर बन्दै गएको कार्यक्रमका वक्ताहरूले उल्लेख गरे।

    परियोजनाअन्तर्गत मुस्ताङको जोमसोम गाउँपालिका–मार्फा गाउँका ६५ घरधुरी तथा पाँच सामुदायिक संस्थामा नमूनाका रूपमा स्वच्छ ताप र नवीकरणीय ऊर्जा प्रविधि जडान गरिने जानकारी दिइएको छ।

    इसिमोडका महानिर्देशक पेमा ग्याम्र्टसोले घरभित्रको वायु प्रदूषणले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्नुका साथै जलवायु परिवर्तनलाई पनि तीव्र बनाउने भएकाले हिमाली क्षेत्रमा स्वच्छ नवीकरणीय ऊर्जा प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।

    वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सरकारले स्वीकृत गरेको तापीय ऊर्जा मार्गचित्र कार्यान्वयनमा आए हिमाली क्षेत्रको वातावरणीय स्वच्छता, ऊर्जाको पहुँच र जनताको जीवनस्तरमा सुधार आउने धारणा राख्नुभयो।

    जोमसोम गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको पालिकालाई लक्षित गरी परियोजना सञ्चालन हुन लागेकामा खुशी व्यक्त गर्नुभयो।

    प्राक्टिकल एक्सनका राष्ट्रिय निर्देशक पूजा शर्माले उच्च हिमाली क्षेत्रमा अझै पनि परम्परागत बायोमास प्रयोग गरेर खाना पकाउने र कोठा तताउने बाध्यता रहेकाले वातावरण र जनस्वास्थ्यमा नकारात्मक असर देखिएको बताउँदै परियोजनाबाट सुधार आउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा नवीकरणीय ऊर्जा क्षेत्रमा कार्यरत सरकारी निकाय, विकास साझेदार संस्था तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images