काठमाडौं-ढुवानीसम्बन्धी काम गर्ने उपाय सिटी कार्गो प्रा.लि.मा घाटा चुलिँदै गएको छ। वाणिज्य बैंकहरूबाट ९५ करोड रुपैयाँ ऋण लिएर सञ्चालनमा आएको कम्पनी निरन्तर घाटामा गएको हो। कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल सञ्चालन घाटा ११ करोड १९ लाख ९ हजार ७ सय ५६ रुपैयाँ रहेको छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा यस्तो घाटा बढेर १४ करोड ५४ लाख १४ हजार ७९ रुपैयाँ पुगेको छ।
नेपालको लजिस्टिक्स कम्पनी उपाय सिटी कार्गो प्रालिले आफ्नो आधिकारिक वेबसाइटको इन्भेस्टर रिलेसन्स पृष्ठमा सन् २०२४मा सम्पन्न भएको ‘क्वाटरब्याक राउन्ड’ले कम्पनीलाई नाफातर्फ लैजाने तथा निकट भविष्यमा नेपाल स्टक एक्सचेन्जमा प्राथमिक सार्वजनिक सेयर निष्काशन (आईपीओ) ल्याउने तयारी गर्ने उल्लेख गरेको छ ।
तर कम्पनीकै आर्थिक वर्ष २०८१-८२ को अडिट गरिएको समेकित वित्तीय विवरणले भने कम्पनीको वित्तीय अवस्था अझै पनि चुनौतीपूर्ण रहेको देखाउँछ । वित्तीय विवरणअनुसार कम्पनीले आर्थिक वर्ष २०८१-८२ मा करिब १२ करोड ८९ लाख ८७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो वर्ष पनि कम्पनी करिब नौ करोड ३६ लाख घाटामा रहेको थियो । अर्थात् लगातार दुई आर्थिक वर्ष कम्पनीले उल्लेख्य नोक्सानी व्यहोरेको छ ।
कम्पनीको सञ्चित नोक्सानी ऋणात्मक ४१ करोडभन्दा बढी पुगेको छ । यसले विगतदेखि सञ्चित घाटा अझै ठूलो रहेको संकेत गर्दछ । ऋणतर्फ हेर्दा कम्पनीको अवस्था झन् गम्भीर देखिन्छ । वित्तीय विवरणअनुसार दीर्घकालीन ऋण करिब ३७ करोड ४३ लाख रुपैयाँ र अल्पकालीन ऋण करिब २८ करोड ७० लाख रुपैयाँ छ । अर्थात् बैंक तथा अन्य स्रोतबाट लिएको ऋण मात्रै ६६ करोडभन्दा बढी पुगेको छ । कुल दायित्व भने ७२ करोड ३८ लाखभन्दा बढी रहेको देखिन्छ । यद्यपि कम्पनीले सेयर पुँजी बढाएको, प्रिमियममा सेयर जारी गरेको तथा विभिन्न लगानी चरणमार्फत पुँजी संकलन गरेको देखिन्छ । कम्पनीको सेयर पुँजी १६.५४ करोड रुपैयाँबाट बढेर ३२.५७ करोड रुपैयाँ पुगेको छ । तर पुँजी वृद्धि हुँदाहुँदै पनि कम्पनी अझै नाफामा पुग्न सकेको छैन ।
अर्कोतर्फ, सञ्चालनबाट नगद प्रवाह पनि ऋणात्मक रहेको देखिन्छ । यसको अर्थ कम्पनीको नियमित व्यवसायबाट पर्याप्त नगद उत्पन्न भइरहेको छैन र सञ्चालन तथा विस्तारका लागि बाह्य लगानी तथा ऋणमा निर्भरता कायम रहेको संकेत मिल्छ । यस्तो अवस्थामा कम्पनीले आफ्नो वेबसाइटमै ‘निकट भविष्यमा प्राथमिक सार्वजनिक सेयर निष्काशन’को तयारी भइरहेको उल्लेख गरेपछि लगानीकर्तालाई झस्काएको छ ।
प्राथमिक सार्वजनिक सेयर निष्काशनको आधार कम्पनीको वास्तविक नाफा र नगद प्रवाह हो । तर कम्पनीले आफ्नो भविष्यको सम्भावित वृद्धिलाई मात्र देखाएको छ । नेपालको पुँजी बजारमा प्राथमिक सार्वजनिक सेयर निष्काशन जारी गर्नु भनेको केवल पुँजी संकलनको माध्यम मात्र होइन, हजारौँ सर्वसाधारण लगानीकर्ताको विश्वाससँग जोडिएको विषय पनि हो ।
कुनै पनि कम्पनी सार्वजनिक निष्काशनमा आउँदा लगानीकर्ताले लगातारको नाफा, ऋणको अवस्था, नगद प्रवाह, सञ्चित घाटा तथा व्यवसायको दिगोपनजस्ता पक्षको गम्भीर मूल्यांकन गर्नु आवश्यक हुन्छ । हालसम्म कम्पनीले प्राथमिक सार्वजनिक सेयर निष्काशनको औपचारिक आवेदन दिएको वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको विवरण सार्वजनिक सूचीमा देखिँदैन।
कम्पनीले भविष्यमा प्राथमिक सार्वजनिक सेयर निष्काशन ल्याउने योजना व्यक्त गरेको भए पनि, उपलब्ध वित्तीय विवरणले भने कम्पनी अझै घाटा, उच्च ऋणभार तथा नकारात्मक सञ्चित आम्दानीको अवस्थाबाट गुज्रिरहेको देखाउँछ । यस्तो अवस्थामा अन्तिम निर्णय गर्नुअघि नियामक निकाय, सम्भावित निष्काशन प्रबन्धक र लगानीकर्ताले कम्पनीको व्यावसायिक योजना, वित्तीय सुधारको सम्भावना तथा जोखिमहरूको विस्तृत मूल्यांकन गर्नु आवश्यक देखिन्छ ।
पछिल्ला वर्षहरूमा नेपालमा प्राथमिक सार्वजनिक निष्काशनलाई केही कम्पनीहरूले व्यवसाय विस्तारको पारदर्शी माध्यमभन्दा पनि सर्वसाधारणबाट पुँजी संकलन गर्ने सजिलो उपकरणका रूपमा प्रयोग गर्न खोजेको भन्ने चिन्ता बढ्दै गएको छ। निरन्तर घाटामा रहेका, उच्च ऋणभार बोकेका वा दिगो नाफाको स्पष्ट आधार प्रस्तुत गर्न नसकेका कम्पनीहरू पनि प्राथमिक सार्वजनिक निष्काशनको चर्चा गर्न थालेपछि लाखौँ साना लगानीकर्ताको हितप्रति प्रश्न उठेको छ ।

पुँजी बजारमा लगानीकर्ताको विश्वास नै सबैभन्दा ठूलो सम्पत्ति भएकाले नेपाल धितोपत्र बोर्डले प्रत्येक कम्पनीको वित्तीय अवस्था, व्यावसायिक दिगोपन, नगद प्रवाह, ऋणको स्तर, जोखिमको पूर्ण खुलासा तथा भविष्यको योजना कडाइका साथ परीक्षण गरी मात्र सार्वजनिक निष्काशनको अनुमति दिनुपर्छ । अन्यथा अपर्याप्त वित्तीय आधार भएका कम्पनीहरू बजारमा प्रवेश गर्दा भविष्यमा निर्दोष तथा साना लगानीकर्ताले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने जोखिम रहन्छ र यसले समग्र पुँजी बजारप्रतिको जनविश्वाससमेत कमजोर पार्न सक्छ ।
कम्पनीले गोदाम (वेयरहाउस) विस्तार, विदेशी लगानी आकर्षित गर्ने तथा डोल्मा इम्प्याक्ट फन्डजस्ता संस्थाबाट लगानी भित्र्याएको दाबी गर्दै आएको छ । तर कम्पनीकै अडिट गरिएको वित्तीय विवरणले लगातार घाटा, बढ्दो सञ्चित नोक्सानी, उच्च ऋणभार तथा सञ्चालनबाट पर्याप्त नगद प्रवाह नदेखाएको अवस्था चित्रण गर्दछ । यस्तो अवस्थामा कम्पनीको दीर्घकालीन व्यावसायिक दिगोपन, लगानीबाट अपेक्षित प्रतिफल र भविष्यमा सार्वजनिक निष्काशनको आधारबारे स्वाभाविक प्रश्न उठ्छ । यदि कम्पनीको विस्तार मुख्यतः ऋण र बाह्य पुँजीमा निर्भर छ तर व्यवसायले निरन्तर नाफा सिर्जना गर्न सकेको छैन भने, नियामक निकाय र सम्भावित लगानीकर्ताले कम्पनीको वास्तविक वित्तीय अवस्था, व्यावसायिक मोडेल र जोखिमको गहन मूल्यांकन गर्नु आवश्यक देखिन्छ ।
कम्पनीको आम्दानीभन्दा खर्च बढ्दै जाँदा घाटा निरन्तर उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ५ करोड ३० लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको उल्लेख छ। यस्तै, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको आम्दानी ५ करोड ७९ लाख ४६ हजार रुपैयाँ रहेको छ। कम्पनी स्रोतका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको घाटा झनै चुलिँदै गएको छ। कम्पनी निरन्तर घाटामा जान थालेपछि लगानीकर्तामा भने चिन्ता बढ्न थालेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार कम्पनीले सिटिजन्स इन्टरनेसनल बैंकको नेतृत्वमा माछापुच्छ्रे बैंकसँग ९५ करोड रुपैयाँको ऋण स्वीकृत गराएको छ। जसमध्ये सिटिजन्स बैंकबाट उपाय लजिस्टिकको नाममा ५२ करोड रुपैयाँ ऋण लिइसकेको बताइएको छ। बैंक स्रोतका अनुसार कम्पनीले एउटा कम्पनीबाट लिएको ऋण अर्को कम्पनीमा र अर्को कम्पनीबाट लिएको ऋण अन्यत्र लगेर तिर्ने गरेको पाइएको छ। दुई कम्पनीको कुल दायित्व ४१ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा देखिएको छ।
कम्पनीले वेयरहाउस निर्माण गर्ने उद्देश्यले काभ्रेमा जग्गासमेत खरिद गरेको छ। तर, उक्त जग्गामा हालसम्म वेयरहाउस निर्माण भइनसकेको बताइएको छ।
कम्पनीको व्यवस्थापनमा सुमन रायामाझी म्यानेजिङ डाइरेक्टरका रूपमा रहेका छन्। उनी कम्पनीका संस्थापक सदस्यमध्ये एक हुन्। कम्पनीको सञ्चालक समिति सदस्यमा रञ्जिभ श्रेष्ठ रहेका छन्। यस्तै, संगम पौडेल प्रेसिडेन्ट तथा शम्भु सुवेदी भाइस प्रेसिडेन्टका रूपमा रहेका छन्। उपाय सिटी कार्गो प्रा.लि.ले देशभित्र ढुवानीसम्बन्धी काम गर्दै आएको छ।


विश्व खबर 




















