काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पार्टी विभाजनको दिशामा अघि बढिरहेको विश्लेषण गरेका छन् ।
गत जेठ अन्तिम साता बसेको बागमती प्रदेशका नेताहरूसँग गुन्डुमा भएको भेटमा ओलीले पार्टी पुनर्गठनको एजेन्डा विपक्षीको योजनाअनुसार अघि बढाइएको दाबी गर्दै केही नेता एमाले छोड्न सक्ने संकेत गरेका थिए ।
स्रोतका अनुसार उनले विष्णु पौडेल र शंकर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
यसअघि बागमती प्रदेशको सुझाव संकलन कार्यक्रममा अधिकांश नेताहरूले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए ।
उपाध्यक्ष पौडेलले पनि एमालेको जनमत र प्रतिष्ठा पुनःस्थापित गर्न पुनर्गठन आवश्यक रहेको बताएका थिए ।
ओलीको अभिव्यक्तिपछि महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा नहुने भन्दै जनसम्बन्ध सुदृढ बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।























