images
images
  • बालेनले संविधान र रास्वपा विधानविपरीत कार्य गर्न थालेपछि रवि दबाबमा

    काठमाडौं– सरकारका विवादास्पद निर्णय र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निरन्तर दबाबमा परेका छन् ।

    संसद्देखि सडकसम्म सरकारको आलोचना बढिरहँदा प्रश्नको केन्द्र प्रधानमन्त्रीभन्दा पनि रवितर्फ सोझिन थालेको छ ।

    प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारको कार्यसम्पादनमाथि कडा आलोचना गर्दै रविका पुराना प्रतिबद्धता स्मरण गराए ।

    सुकुमबासी हटाउने अभियान, आत्मदाह प्रकरण, मिडियामाथिको दबाब र सरकारको जवाफदेहितामाथि प्रश्न उठाउँदै उनले सरकार असफलताउन्मुख रहेको संकेत गरे ।

    यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह रवि लामिछानेसँगै संसद्मा उपस्थित भए पनि करिब २० मिनेटमै बैठक छाडे ।

    विपक्षी दलहरूले प्रधानमन्त्रीले विवादास्पद अभिव्यक्ति फिर्ता लिनुपर्ने र संसद्मा जवाफ दिनुपर्ने माग दोहोर्‍याए ।

    सरकारका निर्णय—विशेषगरी सुकुमबासी हटाउने अभियान, विरोधीमाथिको धरपकड र सञ्चारमाध्यममाथिको दबाबका कारण जनआक्रोश बढिरहेको छ ।

    यी विषयमा रविका पुराना प्रतिबद्धता सम्झाउँदै नागरिक र विपक्षीले उनीसँग नै जवाफ मागिरहेका छन् ।

    रवि लामिछानेले भने मिडिया हाउसमा गाडी तेर्स्याउने घटना गलत भएको स्वीकार गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

    साथै, सुकुमबासी समस्या लगायतका विषयमा प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको र सरकारलाई कोर्स करेक्सन आवश्यक रहेको संकेत दिएका छन् ।

    समग्रमा, जनसमर्थन र प्रभावशाली अभिव्यक्तिका लागि परिचित रवि लामिछाने आफ्नै सरकारको विवादित निर्णयका कारण रक्षात्मक अवस्थामा पुगेका छन् भने सरकारको कार्यशैलीले उनको राजनीतिक सक्रियता र सार्वजनिक बोलीसमेत सीमित बनाएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images