काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच गत आइतबार भएको भेटपछि सरकार र पार्टी नेतृत्वबीचको मतभेद सतहमा आएको छ ।
महाधिवेशनपछि रिक्त रहेका पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनलाई लिएर बालेनले चाँडो निर्णय गर्न दबाब दिएका छन् भने रविले सरकारको कार्यसम्पादनमा सुधार र कमजोर मन्त्रीहरूको हेरफेरलाई प्राथमिकता दिएको स्रोतहरूको दाबी छ ।
रविनिकट नेताका अनुसार भेटका क्रममा सरकारको कार्यशैलीबारे छलफल हुँदा बालेनले प्रतिक्रिया जनाउँदै, ‘त्यसो भए तपाईं सरकार चलाउनुस्, पार्टी म चलाउँछु’ भनेका थिए ।
यतिमै उनी सीमित भएनन् ।
बालेनले म प्रधानमन्त्री पद त्याग्छु, तपाईं बन्नुस् प्रधानमन्त्री, पार्टीको जिम्मा मेरो भो ।
रविले भने कम प्रदर्शन गरेका मन्त्रीहरूलाई हटाएर सरकारको प्रभावकारिता बढाउनुपर्ने धारणा राखेका थिए ।
यता बालेन पक्षले भने पार्टी संगठनलाई पूर्णता दिन ढिलाइ भइरहेको भन्दै पदाधिकारी मनोनयन तत्काल टुंग्याउनुपर्ने अडान राखेको जनाएको छ ।
यसबीच सञ्चारमाध्यमलाई लक्षित गरी भएको भनिएको त्रास सिर्जना गर्ने घटनापछि रास्वपाभित्रै फरक–फरक धारणा सार्वजनिक भएका छन् ।
पार्टीले विज्ञप्तिमार्फत प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै घटनामा संलग्नमाथि कारबाहीको माग गरेको छ भने केही सांसदहरूले पनि उक्त घटनाको खुलेर विरोध गरेका छन् ।
पछिल्ला घटनाक्रमले रास्वपाभित्र सरकार सञ्चालन र पार्टी व्यवस्थापनका विषयमा नेतृत्वबीच मतभेद बढ्दै गएको संकेत गरेका छन् ।























