काठमाडौं– काठमाडौंका प्रमुख मिडिया हाउस, गगन थापा निवास र भाटभटेनी अगाडि सोमबार भएको शंकास्पद गाडी पार्किङको विषय प्रतिनिधिसभामा विपक्षी दलहरूले उठाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले यसबारे मौनता अपनाएका छन् ।
रास्वपा सांसदहरूले शून्य र विशेष समयमा आफ्ना निर्वाचन क्षेत्र, विदेशमा रहेका नेपाली, विद्युत् समस्या तथा सिरहामा तीन बालबालिकाको डुबेर मृत्यु भएको घटनालगायत विषय उठाए ।
तर शंकास्पद पार्किङ प्रकरणबारे कुनै धारणा राखेनन् ।
यसैबीच विपक्षी सांसदहरूले घटनाको निष्पक्ष छानबिन र सरकारको जवाफ माग गरेका छन् ।
रास्वपा सांसदहरूले भने सरकारमाथि लगाइएका आरोपप्रति नियमापत्ति जनाउँदै सदनमा प्रयोग भएका केही अभिव्यक्तिहरू रेकर्डबाट हटाउन माग गरेका थिए ।
सोमबार बिहान अनलाइनखबर, हिमालय टिभी र कान्तिपुर मिडिया हाउसका कार्यालय प्रवेशद्वार अवरुद्ध हुने गरी उस्तै शैलीमा गाडी पार्किङ गरिएको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि संलग्न व्यक्तिको पहिचान अझै खुल्न सकेको छैन ।























