काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापति र ९९ केन्द्रीय सदस्य निर्वाचित भए पनि पार्टीले अझै ११ पदाधिकारी, ३१ सचिवालय सदस्य र ५१ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।
पार्टीभित्रको छलफलअनुसार वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह निश्चितजस्तै छन् ।
मनोनयनतर्फ उपसभापतिमा पूर्वाधारमन्त्री सुनिल लम्साल र महामन्त्रीमा भूपदेव शाहको सम्भावना बलियो रहेको नेताहरू बताउँछन् ।
रास्वपाको विधानले सभापतिलाई पदाधिकारी मनोनयनको विशेष अधिकार दिएको छ ।
सभापति रवि लामिछानेले एकता तथा समायोजनबाट आएका नेताहरूलाई प्राथमिकता दिँदै मनोनयन गर्ने तयारी गरेको स्रोतहरूको दाबी छ ।
प्रवक्तामा प्रमोद न्यौपानेको नाम चर्चामा रहेको छ भने कोषाध्यक्षमा लीमा अधिकारी दोहोरिन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।
मन्त्रीहरूलाई पदाधिकारीभन्दा सचिवालय सदस्यमा राख्ने तयारीसमेत भएको स्रोतको भनाइ छ ।























