काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको मृत्यु प्रकरणमा संसदमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रतिप्रश्न गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले सांसदहरूलाई लक्षित गर्दै भने, ‘तपाईंहरू हिजो अस्पतालमा कति जना पुग्नुभएको थियो ?’
आफूले वीर अस्पताल पुगेर उपचारमा कुनै कमी हुन नदिएको र बिरामीलाई सुरक्षित रूपमा उपचारका लागि स्थानान्तरण गर्न रातभर प्रयास गरेको उनले बताए ।
भारतमा उपचारका लागि पठाउने प्रयाससमेत गरिएको तर चिकित्सकहरूको सल्लाहअनुसार सम्भव नभएको उनको भनाइ थियो ।
गृहमन्त्री गुरुङले अहिले पनि पीडित परिवारलाई कसरी सान्त्वना दिने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै मुखले मात्र होइन, फिल्डमा गएर जनताको सेवा गर्नुपर्छ भने ।
उनले आफू स्टन्टबाजी गर्न नभई देशको सेवा गर्न आएको पनि बताए ।
घटनासम्बन्धी आलोचनाको जवाफ दिँदै गुरुङले ह्वील लक ट्राफिक प्रहरीले नभई नगर प्रहरीले लगाएको स्पष्ट पारे ।
उनले स्थानीय र प्रदेश सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाउँदै तीन तहको सरकारको भूमिकालाई बुझेर टिप्पणी गर्न आग्रह गरे ।
कालो सिसा प्रयोग गर्न नपाइने कानुन वर्तमान सरकारले नभई अघिल्लै कानुनी व्यवस्थाअनुसार कार्यान्वयन गरिएको पनि उनले स्पष्ट पारे ।























