काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै जाँदा असन्तुष्ट (इतर) समूहले संगठनात्मक शक्ति प्रदर्शन तीव्र बनाएको छ ।
पार्टी विभाजनको औपचारिक निर्णय नभए पनि राष्ट्रिय भेला र १५औँ महाधिवेशनको तयारीबारे छलफल सुरु भएको छ ।
इतर समूहको दाबीअनुसार १६८ सदस्यीय निवर्तमान केन्द्रीय कार्यसमितिमध्ये १११ जना उनीहरूसँग छन् ।
पूर्णबहादुर खड्का र डा.शेखर कोइरालाबीच कार्यगत एकता बलियो बन्दै गएको तथा संगठनात्मक गतिविधि समन्वयमै अघि बढिरहेको बताइएको छ ।
प्रदेश र जिल्ला तहमा पनि इतर समूहले उल्लेख्य प्रभाव रहेको दाबी गरेको छ ।
विशेष महाधिवेशनको विपक्षमा उभिएका ४८ जिल्ला सभापतिमध्ये अधिकांश अझै आफूहरूसँग रहेको उनीहरूको भनाइ छ, यद्यपि विभाजन भए संख्या ३०–३५ मा सीमित हुन सक्ने अनुमान गरिएको छ ।
संस्थापन पक्षले भने यो दाबी अस्वीकार गर्दै इतर समूहसँग केही जिल्ला सभापति मात्रै रहेको बताएको छ।
प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि इतर समूहले आफ्नो प्रभाव रहेको दाबी गरेको छ ।
राष्ट्रिय सभाका करिब आधा सदस्य र केही प्रतिनिधिसभा सांसद आफूहरूसँग रहेको उनीहरूको भनाइ छ ।
नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल किसान संघ तथा नेपाल थारु संघको नेतृत्व पनि आफूहरूनिकट रहेको दाबी गरिएको छ ।
यद्यपि, दुवै पक्षले अझै पार्टी एकतालाई प्राथमिकता दिएको सार्वजनिक रूपमा बताइरहेका छन् ।
तर, सहमति हुन नसके कांग्रेसभित्रको शक्ति संघर्ष नयाँ राजनीतिक मोडमा पुग्ने संकेत देखिएको छ ।


विश्व खबर 




















