काठमाडौं– एमाले निकट युवाहरूको ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत गरिएको मत सर्वेक्षणमा ८७.६ प्रतिशत सहभागीले पार्टीमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।
गुगल फर्ममार्फत असार १२ देखि २२ गतेसम्म सञ्चालन गरिएको सर्वेक्षणमा स्वदेश तथा विदेशका एमालेका सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिक सहभागी भएका थिए ।
सर्वेक्षणअनुसार ९१.४ प्रतिशतले पार्टी रूपान्तरण आवश्यक रहेको, ९५.४ प्रतिशतले नेतृत्वको व्यवहार र ९४.९ प्रतिशतले कार्यशैली सुधारिनुपर्ने बताएका छन् ।
साथै, ८७.५ प्रतिशतले पार्टी नीति परिवर्तन हुनुपर्ने मत दिएका छन् ।
त्यस्तै, ९१.४ प्रतिशतले संगठनात्मक संरचना परिवर्तनको पक्षमा, ८२.९ प्रतिशतले नेतृत्व चयनमा सबै संगठित सदस्यको प्रत्यक्ष मत हुनुपर्ने र ८२.८ प्रतिशतले एउटै पदमा बढीमा दुई कार्यकालको व्यवस्था आवश्यक रहेको बताएका छन् ।
पुनर्संरचनाको निकासका लागि ४७.७ प्रतिशतले विशेष महाधिवेशन, २५ प्रतिशतले अर्ली महाधिवेशन र २४।४ प्रतिशतले केन्द्रीय समितिमार्फत समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका छन् ।























