काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को विवादास्पद अभिव्यक्ति र सरकारका कामकारबाहीबारे विपक्षी दलहरूले लगातार उठाउँदै आएको प्रश्नलाई सीमित गर्न रुलिङ गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले एउटै विषय दोहोरिने भएकाले विपक्षीका तर्फबाट एक जना सांसदले मात्रै धारणा राख्न आग्रह गरे ।
उनले विरोध गर्दा सुरु गरिएको विषयमै केन्द्रित हुन र विषयान्तर नगर्न पनि निर्देशन दिए ।
विपक्षी सांसदहरूले भने प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे संसदमै जवाफ, माफी वा अभिलेखबाट हटाउन माग दोहोर्याए ।
कांग्रेसकी हरिनादेवी कामीले सरकार संसदप्रति जवाफदेही हुनुपर्ने बताइन् भने एमालेकी यशोदाकुमारी बरालले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि अहिलेसम्म कुनै कारबाही नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन् ।
बरालले सरकारका अन्य कामकारबाहीबारे प्रश्न उठाउन थालेपछि सभामुख अर्यालले बीचमै रोक्दै विषयवस्तुमै केन्द्रित हुनुस् भन्दै रुलिङ गरेका थिए ।























