काठमाडौं– प्रतिनिधिसभाको गत जेठ १७ गते भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ समितिले उक्त घटनामा संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको छ ।
समितिले सभामुखलाई प्राप्त विशेषाधिकार प्रयोग गर्दै अमर्यादित व्यवहार र उत्तेजक अभिव्यक्तिमाथि नियमावलीअनुसार कारबाही गर्न सुझाव दिएको छ ।
साथै, सांसदहरूले आचारसंहिता र संसदीय नियमहरूको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै सचिवालय, सभामुख र राजनीतिक दलहरूले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रतिवेदनमा अभिमुखीकरण, सुरक्षा, प्रविधि व्यवस्थापन, आचरण अनुगमन, सीसीटीभी निगरानी र दलीय अनुशासनलगायत पक्षमा सुधार गर्न सिफारिस गरिएको छ ।
समितिले स्थलगत अध्ययन, श्रव्यदृश्य प्रमाण, प्रत्यक्षदर्शीको बयान र सम्बन्धित कागजातको विश्लेषणपछि प्रतिवेदन तयार पारेको हो ।
निष्कर्षमा नियमावली कार्यान्वयनमा कमजोरी, संयमताको अभाव तथा व्यवस्थापकीय चुनौती रहेको औँल्याइएको छ ।























