काठमाडौं– संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विकास बैंकले देशका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत पाँच जना जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई ‘महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति’ प्रदान गरेको छ ।
बैंकले विभिन्न समयमा आफूसँग एकीकृत भएका संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ, हरि प्रसाद गिरि, अशोक श्रेष्ठ, नवराज बहादुर सिंह तथा सीताराम प्रसाईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत प्रति विद्यार्थी ५० हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको जनाएको छ ।
स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठको नाममा स्थापना गरिएको छात्रवृत्ति काठमाडौंको नक्सालस्थित श्री नन्दी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी विपिन बुढालाई प्रदान गरिएको छ । मिति २०८३ असार १७ गते आयोजित कार्यक्रममा स्वर्गीय श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा विद्यालयकी प्रधानाध्यापक गीता काफ्लेमार्फत छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।
यस्तै, स्वर्गीय हरि प्रसाद गिरिको नाममा स्थापना गरिएको छात्रवृत्ति पर्साको भवानीपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिशा शाहलाई बैंकका सञ्चालक श्याम सुन्दर रुंगटाले प्रदान गरेका छन् । स्वर्गीय नवराज बहादुर सिंहको नाममा स्थापना गरिएको छात्रवृत्ति कैलालीको धनगढीस्थित श्री सारदा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई बैंकका सञ्चालक सागर मल्लमार्फत प्रदान गरिएको हो ।
त्यसैगरी, स्वर्गीय अशोक श्रेष्ठको नाममा स्थापना गरिएको छात्रवृत्ति मकवानपुरको हेटौंडास्थित श्री अमर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती प्रदेश प्रमुखमार्फत प्रदान गरिएको छ । स्वर्गीय सीताराम प्रसाईको नाममा स्थापना गरिएको छात्रवृत्ति झापाको मेचीनगर–१४ स्थित श्री सिताराम सामुदायिक अंग्रेजी विद्यालयमा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामै वितरण गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी अध्ययनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले विद्यार्थीको शैक्षिक यात्रामा सकारात्मक सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
“सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसात् गर्दै विगत ३२ वर्षदेखि बैंकले देशभर सरल, सहज तथा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका देशभर करिब आठ लाखभन्दा बढी ग्राहक रहेका छन् ।


विश्व खबर 




















